देशभर रासायनिक मलको अभावको चर्चा भइरहेका बेला पर्सासहित तराई–मधेसका जिल्लाका किसानले समयमा मल नपाएको गुनासो गरेका छन् । धानबालीको मुख्य सिजनमै मलको अभाव भएपछि उत्पादनमा असर पर्ने भन्दै किसानले चिन्ता व्यक्त गरेका छन् ।
किसानका अनुसार आवश्यक समयमा मल उपलब्ध नहुँदा खेतीको तालिका प्रभावित भएको छ । कृषि उत्पादन वृद्धि गर्ने सरकारी लक्ष्य रहे पनि खेतीका लागि अत्यावश्यक सामग्री सहज रूपमा उपलब्ध हुन नसक्दा आफूहरू समस्यामा परेको उनीहरूको गुनासो छ ।
यता सरकारले भने साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनी लिमिटेडका गोदाममा पर्याप्त रासायनिक मल मौज्दात रहेको दाबी गर्दै आएको छ । सम्बन्धित कार्यालयहरूले गोदाममा रहेको मलको तस्बिर तथा भिडियो सार्वजनिक गर्दै मौज्दात पर्याप्त रहेको जानकारी दिएका छन् ।
तर, किसानले व्यवहारमा भने आवश्यक समयमा मल प्राप्त गर्न नसकेको गुनासो दोहो¥याएका छन् । मल वितरण प्रणालीलाई प्रभावकारी र पारदर्शी बनाउन सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने किसानको माग छ ।
गोदाममा मल पर्याप्त भए पनि किसानसम्म सहज रूपमा पुग्न नसक्नुको कारण पहिचान गरी वितरण प्रणाली सुधार गर्नुपर्ने उनीहरूको भनाइ छ ।
खाना पकाउने एलपी ग्याँसको आपूर्तिमा समेत समस्या देखिएको भन्दै वीरगञ्जका उपभोक्ताले दैनिक जनजीवन प्रभावित भएको बताएका छन् । बजारमा ग्याँस सहज रूपमा नपाउँदा एक डिलरबाट अर्को डिलरसम्म धाउनुपरेको उनीहरूको गुनासो छ ।
उपभोक्ताले बजारमा ग्याँसको कृत्रिम अभाव सिर्जना गरिएको आशङ्का गरेका छन् । केही स्थानमा कालोबजारी भइरहेको आरोपसमेत लागे पनि सम्बन्धित निकायबाट प्रभावकारी अनुगमन हुन नसकेको स्थानीयको भनाइ छ ।
यता ग्याँस उद्योगहरूले भने आफूहरूले डिलरमार्फत नियमित रूपमा ग्याँस उपलब्ध गराउँदै आएको दाबी गरेका छन् । उद्योगीहरूका अनुसार कम्पनीको तर्फबाट आपूर्तिमा कुनै कमी गरिएको छैन । वितरण प्रक्रियामा स्थानीय स्तरमा समस्या देखिएको भए त्यसको समाधान सम्बन्धित निकायले गर्नुपर्ने उनीहरूको भनाइ छ ।
कृषि उत्पादन र दैनिक जनजीवनसँग प्रत्यक्ष सम्बन्धित मल तथा खाना पकाउने ग्याँसको सहज, नियमित र पारदर्शी वितरण सुनिश्चित गर्नु अहिलेको प्रमुख आवश्यकता बनेको छ । सम्बन्धित निकायले आपूर्ति व्यवस्थापन, प्रभावकारी अनुगमन र बजार नियन्त्रणलाई प्राथमिकता दिए किसान तथा सर्वसाधारणले भोग्दै आएको समस्या कम हुने अपेक्षा गरिएको छ ।
कुनै डिलरले कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरेको पाइएमा कानूनअनुसार कारबाही गर्न सरकार सक्रिय हुनुपर्ने उद्योगीहरूको धारणा छ । स्थानीयवासीले मल र ग्याँसजस्ता कृषि उत्पादन तथा दैनिक जनजीवनसँग प्रत्यक्ष जोडिएका अत्यावश्यक वस्तुको सहज उपलब्धता सुनिश्चित गर्न प्रभावकारी अनुगमन र बजार नियन्त्रण आवश्यक रहेको बताएका छन् ।
तीन तहका सरकारबीच समन्वय बढाउँदै आपूर्ति व्यवस्थापनलाई व्यवस्थित गर्नुपर्ने उनीहरूको माग छ । विशेषगरी तराई–मधेस क्षेत्रमा मल तथा ग्याँस वितरणमा अनियमितता भएको र केही डिलरले कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरेको भन्ने जनगुनासो बढ्दै गएको भन्दै स्थानीयले यस्ता आरोपको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् । दोषी देखिए कानूनअनुसार कारबाही गर्नुपर्ने उनीहरूको भनाइ छ ।