प्रतिनिधिसभाको आज बस्ने बैठकमा पाँच वटा महत्वपूर्ण विधेयक प्रस्तुत गरिने भएको छ। साथै महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेस गरिनुका साथै आर्थिक विधेयक, २०८३ पारित गर्ने कार्यसूची पनि तय गरिएको छ।
सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले महालेखा परीक्षकको ३९औँ वार्षिक प्रतिवेदन, २०८३ सदनमा पेस गर्नेछिन्।
त्यसपछि मन्त्री गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्दै उक्त विधेयक सदनमा पेस गर्ने कार्यसूची रहेको छ।
यस्तै, अर्थमन्त्री स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव सदनमा राख्नेछन्। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्नेछिन्।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावसहित सम्बन्धित विधेयक सदनमा पेस गर्ने कार्यसूची पनि रहेको छ।
बैठकमा आर्थिक विधेयक, २०८३ माथि प्राप्त संशोधनहरूमाथि छलफल गरिने, संशोधनहरू निर्णयार्थ प्रस्तुत गरिने तथा उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री वाग्लेले पेश गर्नेछन्।
यसैगरी, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव पनि अर्थमन्त्री वाग्लेले प्रस्तुत गर्नेछन्। प्राप्त संशोधनहरू निर्णयार्थ प्रस्तुत गरिएपछि उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि सदनमा पेश गरिने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।