चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत प्रतिनिधिहरूको नामावलीमा देखिएका त्रुटि सच्याउने काम नसकिँदा बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेको छैन।
आज बिहान साढे ८ बजेबाट बन्दसत्र सुरु गर्ने कार्यतालिका रहे पनि प्रतिनिधिहरूको अन्तिम नामावली टुंगो नलाग्दा कार्यक्रम प्रभावित भएको हो।
रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार प्रतिनिधिहरूको विवरण मिलाउने तथा अन्तिम सूची तयार गर्ने काम जारी छ। प्रतिनिधिहरूको टुंगो लागेपछि मात्रै बन्दसत्र सुरु गरिने उनले बताए।
पार्टीका नेताहरूका अनुसार नामावली सम्बन्धी विवाद र प्राविधिक समस्या समाधान गर्न समय लागेकाले बन्दसत्र अपराह्नसम्म मात्रै सुरु हुने सम्भावना रहेको छ।
प्रतिनिधिहरूको नाम, थर र ठेगानासम्बन्धी विवरण नमिलेकाले परिचयपत्र (कार्ड) वितरणमा समेत समस्या देखिएको छ। मधेश प्रदेशसहित केही प्रदेशका प्रतिनिधि छनोटबारे पनि विवाद उत्पन्न भएको बताइएको छ।
निर्वाचन समितिले आइतबार करिब ४ हजार प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक गरेको थियो। तर त्यसमा विभिन्न त्रुटि र दाबी–विरोधका विषय उठेपछि अन्तिम सूची तयार गर्न थप समय लागेको हो।
बन्दसत्रस्थल वरपर अहिले प्रतिनिधिहरूको उल्लेख्य उपस्थिती देखिएको छ। प्रतिनिधिहरू अन्तिम निर्णयको प्रतीक्षामा रहेका छन्।
बन्दसत्रमा केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्ताव, सांगठनिक तथा राजनीतिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन पेश गरी छलफल गर्ने कार्यसूची रहेको छ।