मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालय अन्तर्गतको मिडिया काउन्सिल जनकपुरधामको आयोजनामा ‘स्वच्छ, विश्वसनीय र मर्यादित पत्रकारिताका लागि आचारसंहिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम’ वीरगञ्जस्थित होटल वृन्दावनमा सम्पन्न भएको छ।
एकदिने अभिमुखीकरण कार्यक्रममा पत्रकारिताको विश्वसनीयता अभिवृद्धि, व्यावसायिक मर्यादा कायम राख्ने तथा सञ्चार माध्यमप्रति जनविश्वास बढाउने उद्देश्यले पत्रकार आचारसंहिताका विविध पक्षबारे प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत रहेका थिए। मिडिया काउन्सिल जनकपुरधामकी कार्यवाहक अध्यक्ष बन्दना झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चार क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका केन्द्रीय सचिव अशोक तिवारी, लेखा समिति संयोजक केसी लामिछाने, मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, पर्सा शाखा अध्यक्ष ओमप्रकाश तथा विश्व पत्रकार महासंघका दिपेन्द्र चौहानलगायत सहभागी थिए।
अभिमुखीकरणका प्रमुख प्रशिक्षक वरिष्ठ पत्रकार धर्मेन्द्र झाले पत्रकारितामा सत्यता, निष्पक्षता, उत्तरदायित्व, स्रोतको गोपनीयता तथा सामाजिक उत्तरदायित्वका विषयमा प्रशिक्षण दिएका थिए। उनले डिजिटल युगमा सञ्चारमाध्यमले सामना गरिरहेका चुनौती र त्यसको समाधानका उपायबारे पनि प्रकाश पारे।
प्रशिक्षणका क्रममा सहभागी सञ्चारकर्मीहरूलाई पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन, तथ्यपरक समाचार सम्प्रेषण, गलत सूचना तथा भ्रामक सामग्री नियन्त्रण तथा सामाजिक सञ्जालको जिम्मेवार प्रयोगसम्बन्धी जानकारी प्रदान गरिएको थियो।
पर्सा जिल्लाका विभिन्न सञ्चार माध्यममा आबद्ध ८० भन्दा बढी पत्रकार तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको उक्त कार्यक्रममा सहभागीहरूले यस्ता अभिमुखीकरणले पत्रकारिताको व्यावसायिक स्तर उकास्न र जिम्मेवार सञ्चार अभ्यास प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।
मिडिया काउन्सिल जनकपुरधामले प्रदेशभरका सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि गर्दै पत्रकारितालाई थप मर्यादित, उत्तरदायी र विश्वसनीय बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।