गृहमन्त्री सुधन गुरुङले यस वर्षको मनसुनजन्य विपद् व्यवस्थापनमा परम्परागत निरीक्षणभन्दा पनि प्रत्यक्ष जनसुरक्षालाई प्राथमिकता दिइएको बताएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले उद्धार तथा राहत कार्यलाई छिटो र प्रभावकारी बनाउन प्रविधि र समन्वयात्मक प्रणाली प्रयोगमा ल्याइने जानकारी दिए।
उनका अनुसार विपद् प्रभावित क्षेत्रमा तत्काल उद्धारका लागि हेलिकप्टर परिचालन गरिने व्यवस्था मिलाइएको छ भने पहिरो तथा जोखिमयुक्त क्षेत्र पहिचान गर्न मोबाइल एपसमेत प्रयोगमा ल्याइनेछ।
मन्त्री गुरुङले भने, “हाम्रो लाइन मिनिस्ट्रीले एउटा एप बनाएको छ, जसबाट डोजरहरु कहाँ–कहाँ छन् भन्ने ठ्याक्कै जानकारी हुन्छ। कुनै क्षेत्रमा तत्काल प्रतिक्रिया दिनुपर्यो भने बाटो खोल्ने काम तुरुन्त गर्न सकिन्छ।”
उनले विपद्को समयमा उपकरण, जनशक्ति र स्थानको जानकारी एकीकृत रूपमा उपलब्ध हुने प्रणालीले उद्धार कार्यलाई छिटो बनाउने विश्वास व्यक्त गरे।
मन्त्री गुरुङले विगतका कमजोरी दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गर्दै यस वर्ष राहत तथा उद्धार कार्यलाई अझ प्रभावकारी बनाइने बताए।
उनका अनुसार विपद् व्यवस्थापनमा सबै निकायबीच समन्वय बलियो बनाइने र नागरिकलाई लामो समयसम्म सडक अवरुद्ध भएर अलपत्र पर्न नदिने गरी तयारी गरिएको छ।