प्रतिनिधिसभाको आजको बैठकले आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट पारित गर्ने तयारी गरेको छ। बजेट पारित गर्नुअघि विभिन्न मन्त्रालयसँग सम्बन्धित शीर्षकमा सांसदहरूले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची तय गरिएको छ।
संघीय संसद सचिवालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिनेछन्। यस्तै शिक्षा तथा खेलकुद मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय तथा रक्षा मन्त्रालयका बजेट शीर्षकमाथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले दिनेछन्।
प्रतिनिधिसभा नियमावलीअनुसार विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार हिजोदेखि विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयका बजेट शीर्षकमाथि केन्द्रित भएर सांसदहरूले उठाएका जिज्ञासा र प्रश्नको मन्त्रीहरूले जवाफ दिइरहेका छन्।
मन्त्रीहरूको जवाफ दिने प्रक्रिया सम्पन्न भएपछि अर्थमन्त्रीले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्नेछन्। उक्त प्रस्ताव पारित भएसँगै आगामी आर्थिक वर्षको बजेटले औपचारिक वैधानिकता प्राप्त गर्नेछ।
बजेट पारित भएपछि बजेटसँग सम्बन्धित आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयकलगायत अन्य वित्तीय विधेयकमाथि पनि प्रतिनिधिसभामा छलफल अघि बढाइने कार्यसूची रहेको छ।