मधेश प्रदेश सरकारले चर्चित ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम’लाई परिमार्जन गर्दै ‘मुख्यमन्त्री महिला स्वरोजगार कार्यक्रम’का रूपमा सञ्चालन गर्ने घोषणा गरेको छ।
आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराईले अब ‘शिक्षित छोरी, सुरक्षित मधेश ! उद्यमशील नारी, समृद्ध मधेश’ भन्ने नारासहित कार्यक्रम कार्यान्वयन गरिने जानकारी दिए।
मधेश प्रदेशको पहिलो सरकारले सुरु गरेको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम’ एक समय प्रदेश सरकारको सबैभन्दा लोकप्रिय योजनामध्ये एक मानिन्थ्यो। यसअन्तर्गत साइकल वितरण, छोरी बीमा, लोकसेवा तयारी कक्षालगायतका कार्यक्रम सञ्चालन गरिएका थिए, जसले राष्ट्रिय स्तरमै चर्चा पाएको थियो। तत्कालीन सरकारले यसलाई प्रदेशको गौरवको योजनाका रूपमा अघि बढाएको थियो।
तर साइकल खरिद प्रक्रियामा अनियमितताको आरोप लाग्दै विवादमा तानिएपछि कार्यक्रमको प्रभावकारिता कमजोर बन्दै गएको थियो। उक्त विवादमा तत्कालीन मुख्यमन्त्री लालबाबु राउतसमेत मुछिएका कारण कार्यक्रमको निरन्तरता प्रभावित भएको थियो।
प्रदेश सरकारले अब पुरानो कार्यक्रमलाई परिमार्जन गरी महिलाको आर्थिक सशक्तीकरण, उद्यमशीलता विकास तथा स्वरोजगार प्रवर्द्धनमा केन्द्रित नयाँ स्वरूपमा अघि बढाउने जनाएको छ। नयाँ कार्यक्रममार्फत महिलालाई आत्मनिर्भर बनाउने तथा आर्थिक गतिविधिमा उनीहरूको सहभागिता बढाउने लक्ष्य लिइएको सरकारको भनाइ छ।