काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सहरी यातायात सुधार, जग्गा एकीकरण आयोजना व्यवस्थापन तथा सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
महानगरले सडक सुरक्षा र दिगो सहरी यातायात प्रणाली विकास गर्ने लक्ष्यसहित पैदल यात्री तथा साइकलमैत्री पूर्वाधार निर्माणलाई विशेष जोड दिएको छ। साथै, ‘जीवन्त र समृद्ध सहर’ को अवधारणाअनुसार साझा यातायातमार्फत रात्रिकालीन सार्वजनिक यातायात सेवा क्रमशः विस्तार गर्ने घोषणा गरिएको छ।
दीर्घकालदेखि सञ्चालनमा रहेका नयाँ बजार र चःमति जग्गा एकीकरण आयोजनालाई हस्तान्तरण गर्ने कानुनी प्रक्रिया अघि बढाइने तथा मनोहरा जग्गा एकीकरण आयोजना आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्ने गरी बजेट विनियोजन गरिने महानगरले जनाएको छ।
सांस्कृतिक तथा ऐतिहासिक क्षेत्र व्यवस्थापन अन्तर्गत सुन्धारा–धरहरा क्षेत्रको सञ्चालन, भृकुटीमण्डपमा अत्याधुनिक सम्मेलन केन्द्र निर्माण तथा काठमाडौँ प्लाजा भवनलाई दीर्घकालीन रूपमा महानगरको प्रयोगमा ल्याउन नेपाल सरकारसँग समन्वय गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
सामाजिक क्षेत्रतर्फ नदी किनार तथा सार्वजनिक स्थानका जोखिमपूर्ण बस्तीबाट स्थानान्तरण गरिएका नागरिकहरूको व्यवस्थापनका लागि संघीय सरकारसँग सहकार्य गरी कार्यान्वयन योजना अघि बढाइनेछ।
त्यसैगरी, सहरी गरिब, विस्थापित तथा साहाराविहीन परिवारका लागि संघ र प्रदेश सरकारसँगको सहकार्यमा उपयुक्त स्थान पहिचान गरी ‘सामूहिक आवास’ कार्यक्रम सञ्चालन गरिने महानगरले जनाएको छ।