राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको नयाँ नेतृत्व चयनका लागि दुई प्रभावशाली समूहबीच प्रतिस्पर्धा चर्किएको छ। पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्त र पर्सा क्षेत्र नम्बर २ का सांसद सुशील साह कानुले आ–आफ्नो प्यानल घोषणा गर्दै चुनावी मैदानमा उत्रिएपछि जिल्ला नेतृत्वको चुनाव चर्चाको केन्द्र बनेको छ।
पार्टीभित्रको नेतृत्व संघर्षले चुनावलाई थप रोचक बनाएको छ। सांसद सुशील साह कानुको प्यानललाई सांसदद्वय रमाकान्त चौरसिया र टेकबहादुर शाक्यसहितका जिल्ला तहका नेताहरूको समर्थन रहेको बताइएको छ। दुवै पक्षले जिल्ला कार्यसमितिका प्रमुख पदहरूमा आफ्ना उम्मेदवार खडा गरेका छन्।
सांसद कानु नेतृत्वको प्यानलबाट उपसभापतिमा रन्दीप श्रीवास्तव, सचिवमा शिवकुमार साह तथा सह–सचिवमा नीरज साह उम्मेदवार रहेका छन्। सदस्य पदका लागि समिर अन्सारी, महमुद अन्सारी, शशीदेवी थरुनी र आशिका थापाले उम्मेदवारी दिएका छन्।
यता सांसद हरि पन्तको प्यानलबाट उपसभापतिमा दिलीप कुर्मी, सचिवमा सुदेश कुमार प्रजापति तथा सह–सचिवमा कृष्ण पासवान चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। सदस्य पदका लागि तुलसा अधिकारी, प्रियङ्का पटेल, युवराज पटेल, पूर्णबहादुर सापकोटा र कामोद्या चौधरी उम्मेदवार बनेका छन्।
निर्वाचन समितिका अनुसार सोमबार बिहानदेखि निर्वाचन प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको छ। सार्वजनिक कार्यतालिका अनुसार बिहान ८:४५ बजेदेखि मनोनयन दर्ता प्रक्रिया सुरु भएको थियो। दाबी–विरोध, उम्मेदवारी फिर्ता तथा अन्य कानुनी प्रक्रिया पूरा भएपछि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ।
निर्वाचन समितिले दिउँसो १ बजेदेखि मतदान सुरु हुने जनाएको छ। मतदान सम्पन्न भएलगत्तै मतगणना गरी नयाँ नेतृत्वको घोषणा गर्ने तयारी गरिएको छ।
पार्टीभित्र देखिएको गुटगत प्रतिस्पर्धाका कारण रास्वपा पर्साको नेतृत्व कसको हातमा पुग्ने भन्ने विषयले कार्यकर्ता, शुभेच्छुक र राजनीतिक वृत्तमा व्यापक चासो र उत्सुकता पैदा गरेको छ। दुवै पक्षले आफ्नो पक्षमा परिणाम आउने दाबी गरिरहेका बेला निर्वाचनको नतिजाले जिल्लामा पार्टीको आगामी राजनीतिक दिशा तय गर्ने अपेक्षा गरिएको छ।