सरकारी कार्यालयमा समयपालन र अनुशासनको अवस्था अझै सन्तोषजनक बन्न नसकेको तथ्य सार्वजनिक भएको छ। राष्ट्रिय सतर्कता केन्द्रको छड्के अनुगमनले हजारौं कर्मचारी कार्यालय समयको बेवास्ता गर्दै आएको र सयौं कर्मचारीले तोकिएको पोशाकसमेत नलगाउने गरेको देखाएको छ।
सरकारी कामकाजमा अनुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्ने उद्देश्यले राष्ट्रिय सतर्कता केन्द्रले देशभरका सरकारी कार्यालयहरूमा छड्के अनुगमनलाई तीव्र बनाएको छ।
केन्द्रकी सूचना अधिकारी सरिता खतिवडाका अनुसार हाल पाँच वटा छुट्टाछुट्टै टोली परिचालन गरी दैनिक १० वटा सरकारी कार्यालयमा नियमित रूपमा छड्के जाँच भइरहेको छ। अनुगमनका क्रममा कर्मचारीको कार्यालय समय पालना, तोकिएको पोशाकको प्रयोग तथा फाइल व्यवस्थापन (ट्र्याकिङ) लाई विशेष प्राथमिकतामा राखिएको छ।
केन्द्रले सार्वजनिक गरेको तथ्यांकअनुसार गएको साउन महिनायता एक हजार १३० वटा सरकारी कार्यालयमा गरिएको अनुगमनमा अपेक्षित सुधार नदेखिएको पाइएको छ। उक्त अवधिमा छ हजार ७१० जना कर्मचारी कार्यालय समयमा अनुपस्थित वा ढिलो उपस्थित भएको भेटिएका छन् भने एक हजार १६२ जनाले तोकिएको पोशाकसमेत नलगाएको पाइएको छ।
अनुशासनहीन कार्यमा संलग्न कर्मचारीलाई निजामती सेवा ऐन, २०४९ को दफा ५५ बमोजिम सम्बन्धित कार्यालयमार्फत चेतावनी पत्र दिने र त्यसको अभिलेख राख्ने प्रक्रिया अघि बढाइएको केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार लगातार दुई पटकसम्म चेतावनी पाएका कर्मचारीलाई प्रचलित कानुनअनुसार विभागीय कारबाहीका लागि सिफारिस गरिनेछ। काठमाडौं उपत्यकासहित जनसम्पर्क बढी हुने सातवटै प्रदेशका प्रमुख जिल्लाहरूमा समेत अनुगमन अभियानलाई निरन्तरता दिइएको केन्द्रले जनाएको छ।