विश्वभरका नागरिकले भिसाविना कति देशमा यात्रा गर्न सक्छन् भन्ने आधारमा पासपोर्टको शक्ति मापन गर्ने हेन्ली पासपोर्ट इन्डेक्स २०२६ सार्वजनिक भएको छ। नयाँ प्रतिवेदनअनुसार नेपालको पासपोर्टको विश्व र्याङ्किङमा सुधार आएको छ।
गत वर्ष १०१औं स्थानमा रहेको नेपाल यस वर्ष चार स्थान सुधार गर्दै ९७औं स्थानमा पुगेको हो। नेपाल र उत्तर कोरिया दुवै ३५ भिसा-फ्री स्कोरका साथ संयुक्त रूपमा ९७औं स्थानमा रहेका छन्। नेपाली नागरिकले हाल ३५ देशमा भिसाविना वा आगमनपछि भिसा प्राप्त गरेर यात्रा गर्न सक्ने प्रतिवेदनमा उल्लेख छ।
यस वर्षको सूचीमा सिंगापुरको पासपोर्ट विश्वकै सबैभन्दा शक्तिशाली बनेको छ। सिंगापुरका नागरिकले १९२ देशमा भिसाविना प्रवेश पाउने सुविधा प्राप्त गरेका छन्।
दोस्रो स्थानमा जापान, दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन्। यी देशका नागरिकले १८७ देशमा भिसाविना यात्रा गर्न सक्छन्। १८६ भिसा-फ्री स्कोरसहित स्विडेन तेस्रो स्थानमा रहेको छ।
भारत र चीनको अवस्था
हेन्ली पासपोर्ट इन्डेक्स २०२६ अनुसार भारत ५७ भिसा-फ्री गन्तव्यसहित ७८औं स्थानमा रहेको छ। भारत गत वर्ष ७७औं स्थानमा थियो। भारतसँगै बोलिभिया र सेनेगल पनि समान स्थानमा रहेका छन्।
अर्को छिमेकी राष्ट्र चीनले उल्लेखनीय सुधार गर्दै ५६औं स्थान हासिल गरेको छ। चीनको भिसा-फ्री स्कोर ८२ रहेको छ। गत वर्ष चीन ६४औं स्थानमा थियो।
त्यस्तै पाकिस्तान ३० भिसा-फ्री स्कोरसहित १००औं स्थानमा रहेको छ।
अमेरिका र बेलायतको पुनरागमन
सन् २०२५ मा दुई दशकको इतिहासमै पहिलो पटक शीर्ष १० बाट बाहिरिएको अमेरिका यस वर्ष पुनः शीर्ष १० मा फर्किएको छ। अमेरिकी पासपोर्ट १७९ भिसा-फ्री स्कोरसहित आइसल्यान्डसँग संयुक्त रूपमा १०औं स्थानमा पुगेको छ।
बेलायतले पनि आफ्नो स्थान सुधार गरेको छ। गत वर्ष आठौं स्थानमा रहेको बेलायत यस वर्ष १८३ भिसा-फ्री स्कोरसहित छैटौं स्थानमा उक्लिएको छ।
सबैभन्दा कमजोर पासपोर्ट कुन देशको ?
प्रतिवेदनअनुसार अफगानिस्तानको पासपोर्ट विश्वकै सबैभन्दा कमजोर बनेको छ। अफगान नागरिकले केवल २३ देशमा मात्र भिसाविना प्रवेश पाउन सक्छन्। अफगानिस्तान १०३औं तथा अन्तिम स्थानमा रहेको छ।
त्यसैगरी सिरिया २६ स्कोरसहित १०२औं स्थानमा रहेको छ भने इराक २९ स्कोरका साथ १०१औं स्थानमा रहेको छ।
हेन्ली पासपोर्ट इन्डेक्स विश्वका विभिन्न देशका पासपोर्ट धारकहरूले प्राप्त गर्ने भिसा-फ्री पहुँचका आधारमा हरेक वर्ष सार्वजनिक गरिने प्रतिष्ठित सूचकांक मानिन्छ।