तराई आर्क ल्याण्डस्केप एण्ड कन्जरभेसन प्रोग्रामको आयोजनामा बाराको सिमरामा दुईदिने मिडिया एण्ड कन्जरभेसन कार्यशाला शुरू भएको छ।
कार्यशालामा मधेश प्रदेशका ८ जिल्ला तथा मकवानपुर र चितवनका पत्रकार महासङ्घका अध्यक्षहरू, वन तथा वातावरणको क्षेत्रमा क्रियाशील पत्रकारहरूको सहभागिता छ।
कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले पर्सा राष्ट्रिय निकुञ्जको जैविक विविधता, वन्यजन्तु संरक्षण, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा निकुञ्जले सञ्चालन गरिरहेका संरक्षण गतिविधिबारे प्रस्तुति दिएका थिए।
उनले संरक्षणका विषयलाई प्रभावकारी रूपमा सञ्चार माध्यममार्फत जनस्तरसम्म पुर्याउन पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको बताए।
वन्यजन्तु कार्यक्रम डब्लुडब्लुफ नेपालका प्रमुख शशाङ्क पौडेलले संरक्षण कार्यक्रममा मिडियाको भूमिका महत्त्वपूर्ण हुने बताए ।

ताल कार्यक्रमका क्लस्टर इन्चार्ज प्रेम पौडेलले तराई आर्क ल्याण्डस्केप क्षेत्रमा सञ्चालित संरक्षण कार्यक्रम, चुनौती तथा उपलब्धिहरूबारे जानकारी गराएका थिए। उनले संरक्षण र विकासबीच सन्तुलन कायम गर्दै स्थानीय समुदायको सहभागितामा आधारित कार्यक्रमलाई प्राथमिकता दिइएको बताए।
कार्यशालामा सहभागी पत्रकारहरूले वन, वन्यजन्तु तथा वातावरण संरक्षणसम्बन्धी विषयवस्तुहरूलाई तथ्यपरक र प्रभावकारी ढंगले सञ्चार माध्यममार्फत प्रस्तुत गर्ने विषयमा अनुभव आदानप्रदान गरेका थिए। कार्यक्रमले संरक्षण क्षेत्रका सरोकारवालाबीच समन्वय र सहकार्य अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।