तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङ माथि छानबिन गर्न गठित उच्चस्तरीय समितिको म्याद थप गरिएको छ। अब समितिलाई थप पाँच दिन समय दिइएको छ।
समितिका अध्यक्ष अच्युतप्रसाद भण्डारी का अनुसार मंगलबारदेखि लागू हुने गरी पाँच दिनको म्याद थप गरिएको हो।
उनले भने, “म्याद अपुग भएकाले हामीले पाँच दिनको समय माग गरेका थियौं। पाँच दिन म्याद थप भएको पत्र प्राप्त भएको छ। अबको पाँच दिनभित्र छानबिन सकेर प्रतिवेदन बुझाउनेछौं।”
छानबिन समितिमा उच्च अदालतका पूर्वन्यायाधीश भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहेका छन्। समितिलाई सुरुमा १५ दिनको समय दिइएको थियो, जुन सोमबार समाप्त भएको थियो।
समितिले गुरुङसँग बयान लिइसकेको छ भने आरोपसँग सम्बन्धित कागजात, सम्पत्ति विवरण र अन्य विवरणहरू पनि अध्ययन गरेको जनाएको छ।
आरोप के हो ?
व्यवसायी दीपक भट्ट सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेपछि उनीसँग गुरुङको साझेदारी तथा सम्बन्धबारे प्रश्न उठेका थिए।
त्यसपछि गुरुङको सम्पत्ति विवरण, सेयर तथा विभिन्न कम्पनीसँगको सम्बन्धलाई लिएर विवाद सार्वजनिक भएको थियो। चर्को आलोचनापछि उनले ९ वैशाखमा प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका थिए।
राजीनामा दिने क्रममा उनले सामाजिक सञ्जालमार्फत आफूविरुद्ध उठेका प्रश्नलाई गम्भीर रूपमा लिएको र निष्पक्ष छानबिनको माग गरेका थिए।
सरकारले ३१ वैशाखमा छानबिन समिति गठन गरेको थियो। अब समितिले अन्तिम प्रतिवेदन तयार गर्ने तयारी गरिरहेको छ, जसले उनको राजनीतिक भविष्यमा समेत प्रभाव पार्ने अनुमान गरिएको छ।