लिखतसम्बन्धी कसुरको आरोपमा पक्राउ परेका वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई पर्सा प्रहरीले मंगलबार बिहान जिल्ला अदालत पर्सामा उपस्थित गराएको छ। अदालतमा हाजिर गराइएसँगै उनीविरुद्धको कानुनी प्रक्रिया औपचारिक रूपमा अगाडि बढेको छ।
जिल्ला अदालत पर्साका स्रेस्तेदार प्रभाकर मल्लिकका अनुसार कार्यालय समय सुरु भएसँगै प्रहरीले मेयर सिंहलाई अदालतमा उपस्थित गराएको हो। अब अदालतमा बयान लिने प्रक्रिया सम्पन्न भएपछि थुनछेक बहस सुरु हुनेछ। बहसपछि अदालतले दिने आदेशका आधारमा थप कानुनी प्रक्रिया अघि बढाइनेछ।
मेयर सिंहलाई मंगलबार बिहान पर्साको ठोरी क्षेत्रबाट प्रहरीले पक्राउ गरेको थियो। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकका अनुसार विशेष सूचनाका आधारमा परिचालित प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
स्थानीय लियाकत अलीले दिएको जाहेरीका आधारमा जिल्ला अदालत पर्साले गत जेठ १२ गते मेयर सिंहसहित तीन जनाविरुद्ध लिखतसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो। अदालतबाट पक्राउ पुर्जी जारी भएपछि मेयर सिंह एकपटक अदालतमा उपस्थित भए पनि त्यसपछि सम्पर्कविहीन बनेका थिए।
प्रहरीका अनुसार मेयर सिंहमाथि अरूकी छोरीलाई आफ्नै छोरीका रूपमा देखाई नक्कली कागजातको आधारमा नागरिकता बनाएको आरोप छ। सोही विषयमा अनुसन्धान भइरहेका बेला उनी पक्राउ परेका हुन्।
पक्राउपछि उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको थियो। हाल अदालतमा उपस्थित गराइएपछि उनीमाथिको अनुसन्धान र कानुनी प्रक्रिया थप अगाडि बढ्ने भएको छ।
मेयर सिंहको पक्राउ र अदालत उपस्थितिले वीरगन्जको राजनीतिक तथा प्रशासनिक वृत्तमा व्यापक चर्चा सिर्जना गरेको छ। अब अदालतको थुनछेक आदेशले उनको आगामी कानुनी तथा राजनीतिक यात्राको दिशा तय गर्नेछ।