प्रेस सेन्टर नेपाल पर्सा शाखाले स्थापना गरेको ‘कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार २०८३’ बाट कारोबार दैनिकका वीरगञ्ज संवाददाता निरज पिठाकोटे मगर सम्मानित हुनुभएको छ। यसैगरी, ‘क्रियाशील युवा पत्रकारिता पुरस्कार २०८३’ युवा पत्रकार बलिराम यादवलाई प्रदान गरिएको छ।
वीरगञ्जमा आयोजित पुरस्कार वितरण समारोहमा पुरस्कृत दुवै पत्रकारलाई कार्यक्रमका प्रमुख अतिथि तथा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष कमल गिरी, सामुदायिक रेडियो प्रसारक सङ्घ (एकोराब) का वरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटा लगायतले जनही २१ हजार रुपैयाँ नगद, सम्मानपत्र तथा दोसल्ला प्रदान गरी सम्मान गर्नुभएको थियो।
समारोहलाई सम्बोधन गर्दै प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष कमल गिरीले नेपाली पत्रकारिता क्षेत्र अहिले राज्यसत्ताको कोपभाजनमा पर्ने गम्भीर जोखिममा रहेको बताउनुभयो। जनताको आवाज बुलन्द गर्ने र लोकतन्त्रको पहरेदारी गर्ने सञ्चारमाध्यमलाई कमजोर बनाउन सरकारले विभिन्न माध्यमबाट नाकाबन्दी गर्ने प्रयास गरिरहेको उहाँको आरोप थियो।
-1780233370.jpeg)
क्रान्तिकारी पत्रकार तथा सहिद कृष्णसेन इच्छुकको स्मरण गर्दै अध्यक्ष गिरीले गणतन्त्र र नागरिक अधिकारको पक्षमा निर्भीकतापूर्वक आवाज उठाएकै कारण तत्कालीन सरकारले इच्छुकको हत्या गरेको उल्लेख गर्नुभयो। बदलिँदो राजनीतिक तथा सामाजिक परिस्थितिमा अझ निडर, व्यावसायिक र निष्पक्ष पत्रकारिताको आवश्यकता बढेको उहाँले बताउनुभयो।
-1780233371.jpeg)
देशभरका सञ्चारमाध्यम आर्थिक संकटबाट गुज्रिरहेका बेला उनीहरूको संरक्षण र प्रवर्द्धनका लागि आवश्यक नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा सरकार त्यसतर्फ गम्भीर नदेखिएको भन्दै अध्यक्ष गिरीले चिन्ता व्यक्त गर्नुभयो। वर्तमान सरकार तानाशाही प्रवृत्तितर्फ उन्मुख भएको उहाँको टिप्पणी थियो।
त्यसैगरी, एकोराबका वरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटाले पत्रकारिता क्षेत्र कमजोर बने लोकतान्त्रिक प्रणाली नै संकटमा पर्ने चेतावनी दिनुभयो। नागरिक अधिकार र सुशासनको पक्षमा वकालत गर्ने सञ्चारमाध्यमलाई विभिन्न कानुन तथा नियमावलीमार्फत कमजोर बनाउने प्रयास भए त्यसको सञ्चार क्षेत्रले सशक्त प्रतिवाद गर्ने उहाँले स्पष्ट पार्नुभयो।
-1780233371.jpeg)
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, महासंघ मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा, पर्सा शाखा अध्यक्ष ओमप्रकाश खनाल, प्रेस सेन्टर नेपालकी केन्द्रीय सचिव सुनिता बराल तथा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापा लगायतले पुरस्कृत पत्रकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै श्रमजीवी पत्रकारको हकहित र प्रेस स्वतन्त्रताको रक्षाका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभएको थियो।
-1780233370.jpeg)