प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सीमा विवादसम्बन्धी अभिव्यक्तिमाथि प्रतिनिधिसभामा प्रश्न उठेको छ। सत्तारूढ तथा विपक्षी दलका सांसदहरूले उक्त अभिव्यक्तिलाई लिएर आपत्ति जनाउँदै संसद्को रेकर्डबाट हटाउन माग गरेका छन्।
नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीसहितका सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्ति संवेदनशील रहेको भन्दै गम्भीर ध्यानाकर्षण गराएका छन्।
नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय अखण्डतासँग सम्बन्धित भएकाले गम्भीर विषय भएको बताएका छन्। उनले भने, “मुलुकको राष्ट्रिय अखण्डतामा आँच आउने खालको अभिव्यक्ति सम्माननीय प्रधानमन्त्रीज्यूले जसरी जिम्मेवार व्यक्ति, जिम्मेवार सदनको रोष्ट्रमबाट व्यक्त गर्नुभएको छ, यो सामान्य विषय होइन।”
उनले प्रधानमन्त्रीले अनौपचारिक कुराकानीको शैलीमा बोलेको हुन सक्ने आशंका व्यक्त गर्दै यस विषयलाई गम्भीर रूपमा लिनुपर्ने बताए।
आइतबार प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री बालेनले नेपाल–भारत सीमा विवाद कूटनीतिक छलफलबाट समाधान गर्नुपर्ने बताएका थिए। सो क्रममा उनले “म प्रधानमन्त्री भएपछि थाहा पाएको भारतले मात्र होइन, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ” भन्ने अभिव्यक्ति दिएका थिए।
यस अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सांसद मल्लले कुनै पनि मुलुकका प्रमुखले यस्तो विषय सार्वजनिक रूपमा भन्नु उपयुक्त नहुने प्रश्न उठाएका छन्।
त्यस्तै, नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले पनि प्रधानमन्त्रीको भनाइबारे स्पष्टता माग गरेकी छन्। उनले यदि उक्त भनाइ सत्य हो भने प्रमाणसहित स्पष्ट पारिनुपर्ने र यदि होइन भने संसद् रेकर्डबाट हटाइनुपर्ने धारणा राखिन्।
सांसदहरूले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संवेदनशील भएकाले संसदीय रेकर्डबाट हटाउनुपर्ने माग दोहोर्याएका छन्।