साफ महिला च्याम्पियनसिप २०२६ अन्तर्गत नेपालले आज समूह चरणको दोस्रो तथा अन्तिम खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र श्रीलंकाबीचको खेल भारतको गोवास्थित जवाहरलाल नेहरु स्टेडियममा साँझ पौने ५ बजे सुरु हुनेछ।
समूह ‘ए’ मा रहेको नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई १–० गोलअन्तरले पराजित गरेको थियो। यता श्रीलंका भने भुटानसँग ४–० को फराकिलो हार बेहोर्दै दबाबमा रहेको छ।
एन्जिला तुम्बापोको कप्तानीमा रहेको नेपाली टोली श्रीलंकालाई हराउँदै समूह विजेताका रूपमा सेमिफाइनल प्रवेश गर्ने लक्ष्यमा छ। नेपाललाई समूहको शीर्ष स्थान सुरक्षित गर्न श्रीलंकासँग बराबरी नतिजा पनि पर्याप्त हुनेछ। तर श्रीलंकालाई अन्तिम चारमा स्थान बनाउन नेपालमाथि ठूलो अन्तरको जित आवश्यक छ।
नेपालकी नियमित कप्तान तथा स्टार फरवार्ड सावित्रा भण्डारी (साम्बा) घुँडाको चोटका कारण प्रतियोगितामा सहभागी छैनन्। शल्यक्रियापछि उनी आराममा रहेकी छन्। यस्तै, सविता रानामगर पनि चोटका कारण मैदानबाहिर नै छिन्।
कम्बोडियाली लिगमा खेलिरहेकी प्रीति राई यात्रा व्यवस्थापनका कारण भुटानविरुद्धको पहिलो खेलमा अनुपस्थित थिइन्। प्रमुख खेलाडीहरूको अनुपस्थितिमा नेपालले भुटानविरुद्ध संघर्षपूर्ण जित निकालेको थियो। उक्त खेलमा नेपालको एकमात्र गोल डिफेण्डर गीता रानाले गरेकी थिइन्।
श्रीलंकाविरुद्धको खेलमा नेपालका फरवार्ड रश्मि कुमारी घिसिङ, रेखा पौडेल तथा युवा खेलाडी मिना देउवा र पूर्णिमा राईबाट गोलको अपेक्षा गरिएको छ। सेमिफाइनलअघि आक्रमण पंक्तिको लय समात्ने अवसरका रूपमा पनि यो खेललाई हेरिएको छ।
हाल नेपाल र भुटानको समान ३–३ अंक भए पनि भुटानले दुई खेल खेलिसकेको छ र गोलअन्तरका आधारमा शीर्ष स्थानमा रहेको छ।
यसैबीच, आजै समूह ‘बी’ अन्तर्गत साविक विजेता बंगलादेश र घरेलु टोली भारतबीच राति पौने ८ बजे प्रतिस्पर्धा हुनेछ। दुवै टोलीले माल्दिभ्सलाई पराजित गर्दै यसअघि नै सेमिफाइनल यात्रा सुनिश्चित गरिसकेका छन्। त्यसैले उक्त खेल समूह विजेता टुंग्याउने निर्णायक प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताका दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। सेमिफाइनल खेल जुन ३ मा तथा फाइनल जुन ५ मा हुनेछ।
साफ महिला च्याम्पियनसिपको यो आठौं संस्करण हो। प्रतियोगितामा भारतले सर्वाधिक पाँच पटक उपाधि जितेको छ भने बंगलादेश पछिल्ला दुई संस्करणको च्याम्पियन टोली हो। नेपाल भने अहिलेसम्म छ पटक फाइनल पुगे पनि पहिलो उपाधिको प्रतीक्षामै रहेको छ।