नेपाल क्रिकेट संघ (क्यान) ले एसियन गेम्स २०२६ को छनोट प्रतियोगिताका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ। घोषित टोलीमा अलराउन्डर कुशल मल्ल र स्पिनर शाहब आलमको पुनरागमन भएको छ।
नेपाल समूह ‘ए’ मा रहेको छ जहाँ मलेसिया, कतार र चाइनासँग प्रतिस्पर्धा गर्नेछ। समूह ‘बी’ मा ओमान, हङकङ, बहराइन र सिंगापुर रहेका छन्।
छनोट प्रतियोगिता आगामी मे ३१ देखि सिंगापुरमा सुरु हुनेछ। प्रत्येक समूहबाट सेमिफाइनलमा पुग्ने चार टोली आगामी सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्सका लागि छनोट हुनेछन्। नेपालले एसियन गेम्समा स्थान बनाउन समूह चरण पार गर्दै कम्तीमा एक नकआउट खेल जित्नुपर्नेछ।
यसअघि आयोजक जापानसहित आइसिसी वरीयताको आधारमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान एसियन गेम्सका लागि छनोट भइसकेका छन्। बाँकी चार टोली छनोट प्रतियोगितामार्फत तय हुनेछन्।
नेपाली टोली
दीपेन्द्रसिंह ऐरी (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सोमपाल कामी, रोहित पौडेल, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ शेख, करण केसी र शाहब आलम।