त्रिभुवन राजमार्गअन्तर्गत हेटौंडा–पथलैया सडकखण्डको तीन नम्बर पुल क्षेत्रमा शुक्रबार बिहान डोजर चलेपछि वर्षौंदेखि व्यवसाय गर्दै आएका दर्जनौं स्थानीय परिवार विस्थापित भएका छन् ।
डिभिजन वन कार्यालय बारा ले पर्सा राष्ट्रिय निकुञ्ज र डिभिजन सडक कार्यालय हेटौंडाको सहयोगमा वन तथा निकुञ्ज क्षेत्र अतिक्रमण गरी बनाइएका संरचना हटाएको जनाएको छ ।
वन कार्यालयका प्रमुख सुजित कुमार झाका अनुसार पटक–पटक सूचना जारी गर्दा पनि स्थानीयले अटेर गरेपछि डोजर चलाउनुपरेको हो ।
तर स्थानीय व्यवसायी र बासिन्दाले भने राज्यले पर्याप्त समय र वैकल्पिक व्यवस्थाबिना आफूहरूमाथि अन्याय गरेको बताएका छन् ।
दुई साताअघि सडक विभागको सूचनापछि व्यवसायीहरूले सडक सीमाभित्र परेका घरटहरा आफैं हटाएर २५–२५ मिटर क्षेत्र खाली गरेका थिए । त्यसपछि सडक क्षेत्रभन्दा बाहिर बसेर व्यवसाय सञ्चालन गरिरहेका बेला अचानक डोजर चलाइएको उनीहरूको गुनासो छ ।
स्थानीय अगुवा अनिल पाख्रिन ले २०४५ सालदेखि जीविका चलाउँदै आएका व्यवसायीलाई समय नै नदिई हटाइएको बताए ।
उनले भने, “आफैंले सडकको क्षेत्र खाली गरिसकेका थियौं । तर राज्यले हाम्रो पीडा नबुझी एक्कासि डोजर चलायो ।”
तीन नम्बर पुल क्षेत्र लामो समयदेखि यात्रुहरूको विश्रामस्थलका रूपमा परिचित थियो । यहाँ ७० भन्दा बढी होटल तथा साना व्यवसाय सञ्चालनमा थिए । बजार खाली गराइएपछि धेरै परिवारको रोजीरोटी संकटमा परेको छ ।
स्थानीय व्यवसायी मिनाकुमारी रुम्बा ले पसलबाट हुने आम्दानीकै आधारमा १२ लाख रुपैयाँ ऋण लिएर नयाँ घर बनाएको बताइन् ।
“सडकको सीमा छोडेपछि सुरक्षित हुन्छौं भन्ने लागेको थियो । ऋण गरेर बनाएको घर केही दिनमै डोजरले भत्काइदियो,” उनले दुःख पोखिन् ।
उद्योग वाणिज्य संघ जीतपुरसिमरा का अध्यक्ष मोहन शर्मा ले व्यवसायीलाई स्थानान्तरणका लागि समय नदिई डोजर चलाउनु राज्यको दमनकारी शैली भएको आरोप लगाए ।
उनले स्थानीयको जीविकोपार्जन र मानवअधिकारमाथि समेत हस्तक्षेप भएको टिप्पणी गरे ।