नेपाली सेयर बजारमा लगातार तेस्रो दिन पनि गिरावट आएको छ। मंगलबार ३९ अंक र बुधबार ४ अंकले घटेको नेप्से परिसूचक बिहीबार थप १० अंकले ओरालो लाग्दै २७३० अंकमा कायम भएको छ।
बजार घटे पनि कारोबार रकम भने बढेको छ। अघिल्लो दिन २ अर्ब ८० करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार ३ अर्ब २९ करोड रुपैयाँको कारोबार भएको हो।
आजको कारोबारमा ८० कम्पनीको शेयर मूल्य बढ्दा १७४ कम्पनीको घटेको छ भने १४ कम्पनीको मूल्य स्थिर रहेको छ।
क्षेत्रगत सूचकतर्फ व्यापार समूह ०.३२ प्रतिशत र जीवन बीमा समूह ०.०१ प्रतिशतले बढेका छन्। अन्य समूह सबैभन्दा धेरै २ प्रतिशतले घटेको छ। यस्तै बैंकिङ ०.०६, विकास बैंक ०.५३, फाइनान्स ०.७२, होटल तथा पर्यटन ०.३०, हाइड्रोपावर ०.२५, लगानी ०.२६, उत्पादन तथा प्रशोधन ०.५२, माइक्रोफाइनान्स ०.२१ तथा निर्जीवन बीमा समूह ०.५१ प्रतिशतले घटेका छन्।
कम्पनीगत प्रदर्शनतर्फ युनियन हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ९.७९ प्रतिशतले बढेको छ। त्यस्तै क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स ९.२२ प्रतिशत र सामुदायिक लघुवित्त २.५० प्रतिशतले उकालो लागेका छन्।
यता एसियन हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ९.८९ प्रतिशतले घटेको छ। हिमालयन रिइन्स्योरेन्स ७.१२ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंक ५.९१ प्रतिशत, रिजलाइन इनर्जी ४.७४ प्रतिशत तथा भुजुङ हाइड्रोपावर ४.३४ प्रतिशतले घटेका छन्।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, साहस ऊर्जा, एसवाई प्यानल, युनियन हाइड्रोपावर र माउन्टेन इनर्जी सबैभन्दा अगाडि रहेका छन्।