विवाहको सिजन सुरु भएसँगै वीरगञ्जमा यहाँका पार्टी प्यालेस र होटलहरूमा बुकिङको चाप बढ्ने गरेको छ । व्यवसायीहरूका अनुसार भारतका सीमावर्ती क्षेत्रबाट समेत विवाहका लागि उल्लेख्य बुकिङ आउने गर्छ । हाल वीरगञ्जमा करिब दुई दर्जन पार्टी प्यालेस सञ्चालनमा छन् भने आधा दर्जनजति तारे स्तरका होटल पनि विवाह तथा अन्य ठूला कार्यक्रमका लागि प्रयोग भइरहेका छन् ।
वीरगञ्ज नेपालको दक्षिणी व्यापारिक नाका मात्र होइन, सामाजिक र सांस्कृतिक गतिविधिको पनि प्रमुख केन्द्र बन्दै गएको छ। सीमावर्ती भारतीय क्षेत्रसँगको निकटता, सहज पहुँच र प्रतिस्पर्धी मूल्यका कारण यो शहर अहिले विवाहका लागि आकर्षक गन्तव्यको रूपमा स्थापित हुँदैछ ।
लक्ष्मी प्याराडाइज पार्टी प्यालेसका सञ्चालक गोपालजी साहका अनुसार कुल बुकिङमध्ये करिब २० देसिख ३० प्रतिशतसम्म भारतबाट आउने गर्छ । उनका अनुसार विशेषगरी केटी पक्षले वीरगञ्जलाई प्राथमिकता दिने गरेका छन्, किनकि यहाँको व्यवस्थापन, स्थान र लागत उनीहरूका लागि अनुकूल हुन्छ ।
होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष तथा सांसद हरि पन्तका अनुसार विगतमा भारतीय बजारलाई लक्षित गर्दै वीरगञ्जलाई ‘विवाह हब’ का रूपमा प्रवद्र्धन गर्ने प्रयास गरिएको थियो । जसको प्रभाव अहिले देखिन थालेको छ । क्लासिक ब्याङ्केट पार्टी प्यालेसका सञ्चालकसमेत रहेका पन्तका अनुसार पार्टी प्यालेसको संख्या बढेसँगै सेवाको मूल्यमा तीव्र प्रतिस्पर्धा शुरू भएको छ । केही वर्षअघि ४ देखि ५ लाख रुपैयाँसम्म पर्ने विवाह प्याकेज अहिले घटेर १ लाख २५ हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्ममा उपलब्ध हुन थालेका छन्।
पछिल्ला दुई वर्षमा मात्रै वीरगञ्जमा करिब १० वटा नयाँ पार्टी प्यालेस थपिएका छन्, जसले बजारमा प्रतिस्पर्धा उल्लेखनीय रूपमा बढाएको छ । एउटा पार्टी प्यालेसले औसतमा वर्षमा ३० देखि ३५ वटा विवाह कार्यक्रमको बुकिङ गर्ने गरेको देखिन्छ । यसबाहेक एन्गेजमेन्ट, जन्मदिन, राजनीतिक दलका सभासम्मेलन तथा कर्पोरेट कार्यक्रमजस्ता अन्य समारोहहरू पनि यिनै स्थलमा आयोजना हुने गरेका छन् ।
व्यवसायीहरूका अनुसार वीरगञ्जमा एउटा स्तरीय पार्टी प्यालेस सञ्चालन गर्न कम्तीमा ३ करोडदेखि १० करोड रुपैयाँसम्म लगानी आवश्यक पर्छ । जग्गाको मूल्य, स्थान, संरचनाको आकार, सजावट, पार्किङ सुविधा, किचन सेटअप, साउन्ड र लाइटिङजस्ता पूर्वाधारका आधारमा लगानी फरकफरक हुने गर्दछ। सामान्य स्तरको पार्टी प्यालेस २ देखि ३ करोड रुपैयाँमा सञ्चालन गर्न सकिए पनि अत्याधुनिक सुविधा भएका ठूला प्यालेसहरूमा ८ देखि १० करोड रुपैयाँसम्म खर्च हुने गरेको छ ।
टाउन हल पार्टी प्यालेसका सञ्चालक विश्वमित्र प्रसाद कलवारका अनुसार यसले ठूलो लगानी गरेका स्तरीय व्यवसायीलाई चुनौती थपेको छ । उनका अनुसार उच्चस्तरीय सुविधा दिन ठूलो लगानी गरिए पनि सस्तो मूल्यमा सेवा दिने होडले बजार असन्तुलित बनेको छ । पहिले विवाह तथा ठूला कार्यक्रमहरू प्रायः तारे होटलहरूमा हुने गर्थे । तर, अहिले पार्टी प्यालेसहरूको संख्या र पहुँच बढेसँगै ती कार्यक्रमहरू क्रमशः होटलबाट पार्टी प्यालेसतर्फ सर्न थालेका छन् । ठूलो स्पेस, सहज पार्किङ र कम लागतमा सेवा उपलब्ध हुन थालेपछि ग्राहकहरू पार्टी प्यालेसतर्फ आकर्षित भएका हुन् ।