मसाज सेन्टरको आवरणमा अवाञ्छित गतिविधि भइरहेको गुनासो बढेपछि वीरगञ्ज महानगरपालिकाले कडा अनुगमन अभियान सुरु गरेको छ।
मंगलबारदेखि सुरु गरिएको उक्त अभियानअन्तर्गत भन्सार क्षेत्रबाट अनुगमन थालिएको नगर प्रहरीले जनाएको छ। नगर प्रहरी इन्चार्ज हरि भुषालका अनुसार महानगरका सबै ३२ वडामा चरणबद्ध रूपमा अनुगमन विस्तार गरिनेछ। यसका लागि नेपाल प्रहरीसँगको समन्वयमा नगर प्रहरी परिचालन गरिएको छ।
अनुगमन टोलीले सञ्चालक तथा कर्मचारीको विवरण, नाबालिकाको प्रयोग भए/नभएको, सञ्चालन अनुमति, दर्ता, कर भुक्तानी, सेवा सञ्चालनको प्रकृति तथा आचारसंहिताको पालना लगायतका विषयमा जाँच गरिरहेको छ।
प्रारम्भिक अनुगमनका क्रममा दुई स्पा सेन्टरमा नाबालिका प्रयोग भएको भेटिएको नगर प्रहरीले जनाएको छ। यस्ता गतिविधिमा संलग्न पाइए कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ।
हालसम्म करिब एक दर्जनभन्दा बढी मसाज तथा स्पा सेन्टरको स्थलगत अनुगमन सम्पन्न भइसकेको छ। केही स्थानमा आवश्यक कागजात अपूर्ण तथा सञ्चालन प्रक्रिया मापदण्डअनुसार नभएको पाइएको छ।
महानगरले मापदण्ड नपुर्याउने तथा गैरकानुनी गतिविधिमा संलग्न व्यवसायमाथि कानुनअनुसार कारबाही गरिने जनाएको छ। साथै, आगामी दिनमा पनि अनुगमनलाई निरन्तरता दिँदै व्यवसायलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन पहल गरिने र शंकास्पद गतिविधिबारे जानकारी गराउन नागरिकलाई आग्रह गरिएको छ।