सर्लाहीको एक ग्रामीण भेगमा खेतवारी वा सडक छेउमा आफै उम्रिएको भिष भन्ने बनस्पतिले स्थानीय फेकनी देवी रामलाई सम्मान दिलाएको छ । उनले यतिवेला त्यहि भिष भन्ने बनस्पतिबाट निस्किने तेल बेचेर उद्यमी बन्दै सम्मान पाएकी हुन् । गाउँकको कथित दलित समुदायकी ती महिलाले भिष भन्ने बनस्पतिको तेल बेचेर मनग्ये आम्दानी गरिरहेको बताइन् ।
उक्त झारतपातलाई भिष भन्ने गरिएको र उक्त पातलाई पेलेर त्यसबाट निस्किएको तेल खरीद गर्न देशका अधिकाशं स्थानबाट व्यापारीहरु गाउँमा पुग्ने गरेको दलित समुदायका महिलाहरुले बताए । सुरुका दिनमा दलित भनेर हेप्ने गरेका गाउँलेले उक्त पातबाट आम्दानी हुन थालेपछि संगसंगै मिलेर काम गर्न थालेको महिलाहरु बताउँछन् ।
विगत एक वर्षदेखि सुरु गरेको उक्त कामबाट उनी एकदमै खुशी व्यक्त गर्दै अर्काको खेतमा मजदुरीको काम गर्ने गरेको तथा श्रीमान् काठमाडौमा जुत्ता चप्पल सिलाउने काम गर्दै आएको तर हाल उक्त व्यवसायमा आफु लगायत परिवारका सबै सदस्यहरु लागेपछि सबै जना संगै बस्न पाएको र घर वा बाहिर कसैसंग पैंसा माग्नपर्ने अवस्था हाल नरहेकोले जिवन नै फेरीएको बताउँछिन् फेकनी देवी राम ।
उनी भन्छिन् ,‘एक वर्ष देखि यो काम सुरु गरेको हो । श्रीमान् पनि पहिले काठमाडौमा जुत्ता चप्पल सिलाउने काम गर्नु हुन्थ्यो । तर अहिले यो उद्यम सुरु गरेपछि कहि जानु पर्देैन उनले भनिन् । सबै जना परिवारका सदस्य यसैमा लागेका छौँ । अब अर्कोको खेतमा काम गर्न जानुपर्दैन । कमाउन घर बाहिर जानुपरेको छैन । धेरै परिवर्तन भएको छ हाम्रो जिवनमा उनले थपिन् । लिएको सबै ऋण चुक्ता गरिसक्यौं । बालबच्चा सबै खुशी र सुखी छन् । अब श्रीमान्संग पनि पैसा माग्नु पर्दैन । अनि यसलाई राम्रै परिवर्तन त भएको भन्ने हो नी । अब अहिले त आफैसंग धेरै पैसा हुन्छ ।’
घुम्टोमा बस्नै पर्ने बाध्यतालाई यो व्यवसायले परिवर्तन गराउन सफल भएको उनको अनुभव छ । सुरुमा यो व्यवसाय गर्न भने पछि दलित समुदायलाई गाउँ समाजमा यतिकै राम्रो नमान्ने गरेको तथा घर परिवारले समेत बाहिर निस्कन नपाइने भने पनि हाल आम्दानी गर्न थालेपछि अरुको सोच बल्निल थालेको छ । उनले खुशी व्यक्त गर्दै भनिन् ,‘किन जान्छौँ घर बाहिर । नगर केही पनि काम त्यस्तो भन्नु हुन्थ्यो घरका सबैले । तर मैले केही नसुनी काममा अगाडी बढिरहे अहिले सफलता प्राप्त भएको छ । अहिले त सासु , ससुरा , श्रीमान् सबै जनाले सहयोग गर्छन् । अब घरका र गाउँका सबै जना भन्छन् धेरै समझदार र होसियार बुहारी छौं । पहिले त घुम्टोमै बस केही गर्नु पर्दैन भन्थे ।
समाजका मानिसहरुले सुरुमा दिनमा विभिन्न खालका कुराहरु सुनाउने गरे पनि आट गरेर अगाडी बढेको र हालसम्ममा राम्रो भएको उनले भनाइ छ । सुरुका दिनमा भिष भन्ने पातबाट उत्पादीत तेल विक्री होला की नहोला भनेर आफुलाई समेत चिन्ता रहे पनि अहिले काम गर्न सहज भएको दलित परिवारको भनाइ छ ।
आफनो तथा गाउँगाउँको खेत , सडकको छेउमा आफै उव्जने गरेको उक्त पात पहिले पहिले निशुल्क रुपमा ल्याउने गरेको तर हाल माग पनि बढेको र माग बराबरको पात पाउन समस्या हुन थालेपछि गाउँमै बढी खेत भएका किसानहरुले खेतमै दलित परिवारले उव्जाउन थालेको अनुभव सुनाए । एक टेलर पातबाट पाँच लिटर तेल दैनिक रुपमा निकाल्ने गरेको उनीहरुको भनाइ छ ।
काठमाडौ, वीरगंज लगायतका सहरहरुमा तेल विक्री हुने गरेको उनी दावी गर्छिन् । पहिले आफै तेल खरीद गर्ने कारखानामा पुेगर आएपछि तेल कसरी पेल्ने, स्थानीय स्तरमा कम खर्चमा तेल निकाल्ने मेशीन प्रयोग गर्न सकिने राम्ररी बुझेपछि मात्रै यो व्यवसाय सुरु गरेको उनीहरुले बताए । त्यति मात्र नभई तेल विक्री गर्न कुनै समस्या नहुने गरेको व्यापारी गाउँमै आउने गरेका छन् र ‘कसरी तेल पेल्ने भनेर हेरेर आएपछि काम सुरु गर्योँ । बजारको समस्या छैन व्यापारी घर मै आउँछन् । अन्य कतिपय महिलाहरुलाई सिकाउने गरेको छु तेल निकाल्ने प्रक्रिया बारे । अहिले त उनीहरु पनि आफनो व्यवसाय संचालन गरेका छन् ।’