अविरल वर्षाका कारण कुलेखानी जलाशयमा पानीको सतह निरन्तर बढिरहेको छ। शुक्रबार असोज ९ गते दिउँसो ३ बजेको मापनअनुसार जलाशयमा पानीको सतह १ हजार ५२३.२७ मिटर पुगेको नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक मदन तिम्सिनाले जानकारी दिएका छन्।
जलाशयमा पानीको सतह औसत प्रतिघण्टा १० सेन्टिमिटरका दरले बढिरहेको छ। कुलेखानी जलाशयको अधिकतम क्षमता १ हजार ५३० मिटर रहेको छ। यसअनुसार जलाशयमा अधिकतम क्षमताभन्दा करिब ६.७३ मिटर मात्र तल पानीको सतह पुगेको छ।
पानीको सतह थप बढ्न नदिन कुलेखानी पहिलो, दोस्रो र तेस्रो जलविद्युत् आयोजनालाई पूर्ण क्षमतामा सञ्चालन गरिएको तिम्सिनाले बताए। कुलेखानी–१ को जडित क्षमता ६० मेगावाट, दोस्रोको ३२ मेगावाट र तेस्रोको १४ मेगावाट रहेको छ।
लगातार वर्षा भइरहेकाले जलाशयको अवस्थालाई ध्यानमा राख्दै नेपाल विद्युत् प्राधिकरणको लोड डिस्प्याच सेन्टर (एलडीसी)को समन्वयमा आयोजनाहरू पूर्ण क्षमतामा सञ्चालन गरिएको हो।
जलाशयमा पानीको सतह थप बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै ड्याम क्षेत्रमा थप अनुभवी जनशक्ति परिचालन गरिएको छ। ड्याममा जडान गरिएको डिजेल जेनेरेटर (डीजी) को परीक्षण तथा जाँच गरी तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ।
सम्भावित आपत्कालीन अवस्थाबारे स्थानीयलाई समयमै जानकारी गराउन ड्याम नियन्त्रण प्रणालीअन्तर्गत पाँच किलोमिटर टाढासम्म सुनिने साइरनको व्यवस्था गरिएको छ। साइरन बजाउनेसम्बन्धी सूचना तथा सचेतनामूलक सन्देशसहितका फ्लेक्स देउराली, सिमखोला, हेभी, खानीखोला र सिस्नेरी प्रहरी चौकीमा राखिएको छ।
गत वर्ष पनि अत्यधिक वर्षाका कारण कुलेखानी जलाशयमा पानीको सतह १ हजार ५३० मिटरभन्दा माथि पुगेपछि बाँधका गेट आंशिक रूपमा खोलिएको थियो। यसपटक पनि वर्षा जारी रहेकाले जलाशयको पानीको सतह र बाँधको अवस्थालाई निरन्तर निगरानीमा राखिएको प्राधिकरणले जनाएको छ।