आन्तरिक उडान सञ्चालन गर्दै आएका निजी वायुसेवा कम्पनीहरूले हवाई इन्धनको मूल्य अत्यधिक बढेपछि सेवा नै बन्द गर्नुपर्ने अवस्था आएको बताएका छन्।
वायुसेवा सञ्चालक संघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल (गणेश) लाई पत्र लेख्दै वायुसेवा कम्पनीहरूलाई राहत तथा सहुलियत उपलब्ध गराउन माग गरेको छ।
संघले लेखेको पत्रमा विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारी, २३ र २४ भदौमा भएको ‘जेनजी’ आन्दोलन तथा हाल मध्यपूर्व (पश्चिम एसिया) क्षेत्रमा जारी युद्धका कारण हवाई इन्धनको मूल्य अस्वाभाविक रूपमा बढेको उल्लेख गरिएको छ। इन्धन महँगिएसँगै उडान खर्च अत्यधिक वृद्धि भएको र नेपाल आउने पर्यटकको संख्यामा समेत उल्लेखनीय गिरावट आएको संघले जनाएको छ।
वायुसेवा कम्पनीहरूका अनुसार बढ्दो लागत र घट्दो आम्दानीका कारण दैनिक रूपमा ठूलो आर्थिक संकट सामना गर्नुपरेको छ। यसले सेवा निरन्तरता नै संकटमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराइएको छ।
हाल वायुसेवा कम्पनीहरूको कुल सञ्चालन खर्चमध्ये इन्धनको हिस्सा ५५ देखि ६० प्रतिशतसम्म पुगेको जनाइएको छ। साथै कम्पनीहरूको व्यापारमा समेत उल्लेख्य गिरावट आएको बताइएको छ।
संघले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट लिइने विभिन्न शुल्क—जस्तै ल्यान्डिङ, पार्किङ, नेभिगेसन, हाउजिङ तथा भाडा लगायतमा हालको विषम परिस्थितिमा कम्तीमा ५० प्रतिशत छुट दिन माग गरेको छ।
त्यसैगरी, विमानस्थल सेवा शुल्क नियमावली संशोधन गरी दर घटाउन तथा वायुसेवा कम्पनीलाई विशेष उद्योगसरह मानी आयकर ऐनअनुसार २० प्रतिशत कर छुटको व्यवस्था गर्न पनि आग्रह गरिएको छ।
हाल प्राधिकरणले अमेरिकी डलरमा शुल्क असुल्दै आएको भन्दै त्यसलाई नेपाली रुपैयाँमा निर्धारण गर्नुपर्ने माग समेत वायुसेवा कम्पनीहरूले राखेका छन्।