पश्चिम बंगाल विधानसभा चुनावको दोस्रो तथा अन्तिम चरणको मतदानका क्रममा विभिन्न स्थानमा हिंसा, तनाव र अव्यवस्था देखिएको छ। नदिया, पनिहाटी, उत्तर २४ परगना, हावडा र दक्षिण २४ परगना लगायतका क्षेत्रमा भाजपा, टीएमसी र आईएसएफ कार्यकर्ताबीच झडप, कुटाकुट तथा ईभीएम खराबीका घटनाहरू सार्वजनिक भएका छन्।
मतदान सुरु भएको केही घण्टामै विभिन्न केन्द्रमा ईभीएम बिग्रिएको भन्दै मतदान प्रक्रिया रोकिएको छ। उत्तर २४ परगनाको बारानगर क्षेत्रस्थित बूथ नम्बर ७२ मा ईभीएम पटक–पटक खराब भएपछि मतदान अवरुद्ध भएको बताइएको छ। मतदाताहरूले एउटै बूथमा पाँच पटकसम्म मेसिन बदलिए पनि मतदान सुरु हुन नसकेको गुनासो गरेका छन्।
धेरै मतदाताहरू लामो समय लाइनमा बसेर पनि मतदान गर्न नपाई फर्किन बाध्य भएको बताएका छन्। एक मतदाताले सञ्चारमाध्यमसँग भने, “हामी बिहान ७ बजेदेखि लाइनमा छौं, तर बारम्बार ईभीएम बिग्रिएको भनिन्छ, अब घर फर्किँदैछौं।”
यसैबीच, भाजपा उम्मेदवार तथा पूर्व सांसद अर्जुन सिंहले नोआपाडा क्षेत्रमा डमी ईभीएम प्रयोग गरेर मतदातालाई प्रभाव पार्ने प्रयास भएको आरोप लगाएका छन्। उनले टीएमसी कार्यकर्तामाथि मतदातालाई विशेष बटन दबाउन दबाब दिएको दाबी गर्दै चुनाव आयोगमा उजुरी दिने बताएका छन्।
दक्षिण २४ परगनाको फल्तामा पनि ईभीएमसँग छेडछाड भएको आरोप लगाउँदै भाजपा उम्मेदवार देवांशु पाण्डेले केही स्थानमा आफ्नो पार्टीको चिह्न भएको बटन जाम गरिएको बताएका छन्।
हावडाको बालीस्थित मतदान केन्द्रमा ईभीएम खराब भएपछि स्थिति तनावपूर्ण बनेको थियो। आक्रोशित भीड नियन्त्रणमा लिन केन्द्रीय सुरक्षा बलले हस्तक्षेप गर्नुपरेको थियो भने प्रहरीले दुई जनालाई पक्राउ गरेको जनाएको छ।
नदियाको चापडा क्षेत्रमा भाजपा पोलिङ एजेन्टमाथि लोहाको रडले आक्रमण भएको छ, जसमा उनी गम्भीर घाइते भई अस्पतालमा उपचाररत छन्।
पनिहाटी क्षेत्रमा आरजी कर काण्डकी पीडितकी आमा तथा भाजपा उम्मेदवार रत्ना देबनाथलाई टीएमसी कार्यकर्ताले घेराबन्दी गरेको आरोप लागेको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले हल्का बल प्रयोग गर्नुपरेको बताइएको छ।
यस्तै, भवानीपुर क्षेत्रमा पनि भाजपा र टीएमसी कार्यकर्ताबीच नाराबाजी र झडप हुँदा केही समय तनावपूर्ण अवस्था बनेको थियो। सुरक्षाकर्मीहरूले भीडलाई तितरबितर पारेपछि स्थिति सामान्य भएको बताइएको छ।
यसैबीच, निर्वाचन आयोगका अनुसार दिउँसोसम्म १४२ सिटमा ६१ प्रतिशतभन्दा बढी मतदान सम्पन्न भएको छ। तर विभिन्न स्थानमा देखिएको हिंसा र अव्यवस्थाले समग्र मतदान प्रक्रिया तनावपूर्ण बनेको छ।
भिडियो होर्नुहोस्
नेतृत्वमा के चाहन्छन् महिला