साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७.७३ अंकले बढ्दै २७९६ अंकमा पुगेको छ। अघिल्लो शुक्रबार पनि नेप्से सामान्य १.५ अंकले उकालो लागेको थियो।
यद्यपि, बजारमा सुधार देखिए पनि कारोबार रकम भने घटेको छ। अघिल्लो दिन ५ अर्ब २७ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ४ अर्ब ७४ करोड रुपैयाँमा सीमित भएको हो। आज १५७ कम्पनीको शेयर मूल्य बढ्दा १०२ कम्पनीको घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ।
समूहगत प्रदर्शनतर्फ उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.५२ प्रतिशतले उकालो लागेको छ। त्यस्तै विकास बैंक १.१४, बैंकिङ ०.६८, फाइनान्स ०.४२, होटल तथा पर्यटन ०.९७, जीवन बीमा ०.१३, माइक्रोफाइनान्स ०.२९ तथा निर्जीवन बीमा ०.१५ प्रतिशतले वृद्धि भएका छन्।
तर, केही समूहमा गिरावट पनि देखिएको छ। हाइड्रोपावर ०.१९, लगानी ०.२८, अन्य ०.४४ तथा व्यापार समूह १.३९ प्रतिशतले घटेका छन्।
व्यक्तिगत कम्पनीतर्फ चार कम्पनीको शेयर मूल्य १५ प्रतिशतले बढेको छ। पाल्पा सिमेन्ट इन्डस्ट्रिज, कर्पोरेट डेभलपमेन्ट बैंक, शिखर पावर र सिटी होटलका लगानीकर्ताले उल्लेख्य लाभ कमाएका छन्। त्यस्तै झापा इनर्जीको ९.४४ प्रतिशत र ग्रिन डेभलपमेन्ट बैंकको ६.८६ प्रतिशतले वृद्धि भएको छ।
यसदिन माइखोला हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ। कारोबारका आधारमा रिलायन्स स्पिनिङ मिल्स, आँखुखोला जलविद्युत् कम्पनी, सोलु हाइड्रोपावर, नेसनल हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंक अग्रस्थानमा रहेका छन्।