गत शनिबार साँझदेखि अवरुद्ध भएको बीपी राजमार्ग तीन दिनपछि पुनः सञ्चालनमा आएको छ। रोशी खोलामा आएको बाढीले विभिन्न स्थानका डाइभर्सन बगाएपछि अवरुद्ध भएको सडक सोमबार अपराह्न साढे ३ बजेदेखि सञ्चालनमा ल्याइएको हो।
सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीको सहकार्यमा क्षतिग्रस्त डाइभर्सन मर्मत गरी यातायात पुनः सञ्चालन गरिएको हो।
शनिबार आएको बाढीले चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेँशी, बुलढुंगा तथा माम्ती क्षेत्रका डाइभर्सन बगाएको थियो। त्यस्तै, सिन्धुलीतर्फ आँपघारी र नेपालथोक क्षेत्रमा समेत डाइभर्सन क्षतिग्रस्त भएको थियो।
हाल अस्थायी समाधानका रूपमा रोशी खोलाको किनार हुँदै डाइभर्सन निर्माण गरी सवारी आवागमन सञ्चालन गरिएको जनाइएको छ। स्थायी संरचना निर्माण नभएसम्म जोखिम कायम रहने भएकाले सावधानी अपनाउन चालकहरूलाई अनुरोध गरिएको छ।
प्रहरीले यात्रु तथा सवारी चालकलाई यात्रा अघि आवश्यक जानकारी लिन नेपाल प्रहरीको १०० तथा ट्राफिक प्रहरीको १०३ नम्बरमा सम्पर्क गर्न समेत आग्रह गरेको छ।