वीरगन्जस्थित नेपाल कावेरी एकेडेमीमा नयाँ शैक्षिक सत्रका लागि नवनिर्वाचित विद्यार्थी नेतृत्व टोलीको औपचारिक नियुक्ति तथा पदभार ग्रहण कार्यक्रम (इन्भेस्टिचर सेरेमनी) भव्य रूपमा सम्पन्न भएको छ। नेतृत्व, जिम्मेवारी र सेवाभावको भावना विकास गर्ने उद्देश्यले आयोजित कार्यक्रमले विद्यार्थीहरूलाई विद्यालयका आदर्श र मूल्यहरूलाई आत्मसात् गर्न प्रेरित गरेको विद्यालयले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि मानवसेवा आश्रम वीरगन्ज शाखाका संस्थापक देवेश गुप्ताले नेतृत्व केवल पद नभई सेवा र उत्तरदायित्वको माध्यम भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई करुणा, इमानदारी र समर्पणभावका साथ आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरे। उनले सकारात्मक सोच र सामाजिक उत्तरदायित्वमार्फत समाजमा परिवर्तन ल्याउन सकिने धारणा व्यक्त गरे।
त्यसैगरी, क्रिएटिभ स्किल्स प्रालिका कार्यकारी निर्देशक राकेश साह तथा विद्यालयका बोर्ड निर्देशक ओजस तुल्स्यानले नेतृत्व विकास, टोलीगत सहकार्य तथा व्यक्तिगत क्षमताको अभिवृद्धिका विषयमा आफ्ना अनुभव र विचार प्रस्तुत गरेका थिए।
विद्यालयकी प्रबन्ध निर्देशक आयुषी तुल्स्यानले नवनिर्वाचित विद्यार्थी परिषद्का पदाधिकारीहरूलाई बधाई दिँदै अनुशासित, जिम्मेवार र प्रेरणादायी नेतृत्वमार्फत विद्यालय परिवारका लागि उदाहरणीय बन्न आग्रह गरिन्।
कार्यक्रमका क्रममा विद्यार्थी नेताहरूलाई औपचारिक रूपमा ब्याज तथा स्यास प्रदान गरिएको थियो। यस वर्षको विद्यार्थी नेतृत्व टोलीअन्तर्गत आर्यन भण्डारी हेड ब्वाय र रुक्सार खातुन हेड गर्लमा नियुक्त भएका छन्। साथै, अन्य विद्यार्थी परिषद्का सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै आफ्नो जिम्मेवारी निष्ठापूर्वक र इमानदारीका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
विद्यालय प्रशासनका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूमा नेतृत्व क्षमता, आत्मविश्वास र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।