वीरगञ्ज नाकाबाट चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महीनामा करिब ७ खर्ब रुपैयाँको मालसामान भित्रिएको छ । साउनदेखि चैतसम्मको अवधिमा कुल ६ खर्ब ९४ अर्ब ५ करोड रुपैयाँ बराबरका वस्तु आयात भएका छन्।
यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १३ प्रतिशत (८० अर्ब ४४ करोड रुपैयाँ) ले बढी हो। अघिल्लो वर्ष यही अवधिमा ६ खर्ब १३ अर्ब ६१ करोड रुपैयाँ बराबरको आयात भएको थियो।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालू वर्षमा यस नाकाबाट आयातमा उल्लेखनीय वृद्धि देखिएको छ। यद्यपि निर्यात भने तुलनात्मक रूपमा निकै कम रहेको छ।
समीक्षा अवधिमा ७९ अर्ब ५४ करोड रुपैयाँको मात्र निर्यात भएको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब १० अर्ब रुपैयाँले बढी भए पनि आयातको तुलनामा न्यून छ। यस नाकाबाट मुख्य रूपमा प्रशोधित तेल, जुसलगायतका वस्तु निर्यात हुने गरेका छन्।
वस्तुगत रूपमा हेर्दा पेट्रोलियम पदार्थ आयात उच्च रहेको छ। चालू वर्षको ९ महीनामा १ खर्ब ४८ अर्ब १६ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । गत वर्ष सोही अवधिमा १ खर्ब ४० अर्ब १० करोड रुपैयाँको आयात भएको थियो।
फलाम तथा फलामजन्य वस्तुको आयात ६२ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको ५५ अर्ब ९ करोड रुपैयाँभन्दा बढी हो । भटमासको कच्चा तेल आयात ५० अर्ब ४० करोड रुपैयाँ पुगेको छ । जुन गत वर्षको ३८ अर्ब १५ करोड रुपैयाँको तुलनामा उल्लेखनीय वृद्धि हो।
मेसिनरी तथा पार्टपुर्जाको आयात पनि बढेको छ। चालू वर्षमा ४९ अर्ब १३ करोड रुपैयाँको आयात भएको छ । अघिल्लो वर्ष ४० अर्ब ५७ करोड रुपैयाँ थियो।
इलेक्ट्रिक मेसिनरी उपकरण र तिनका पार्टपुर्जाको आयात ३४ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । जुन गत वर्षको ३० अर्ब १४ करोड रुपैयाँभन्दा बढी हो।