सर्वोच्च अदालतको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन अनुसार देशभर ४२ हजार ७३९ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन्। तीमध्ये ३३ हजार ५० वटा मुद्दा फछ्र्योट भएको भए पनि ९ हजार ६८९ मुद्दा अझै टुंगो लाग्न बाँकी छन्।
प्रतिवेदन अनुसार अधिकांश मुद्दा जिल्ला अदालतबाट फछ्र्योट भएका छन् । यसअघि आर्थिक वर्ष २०८०/८१ मा ४० हजार ३२० मुद्दा दर्ता भएका थिए, जसमध्ये ३१ हजार ७५२ फछ्र्योट भएका र ८ हजार ५६८ मुद्दा बाँकी रहेका थिए।
हाल बैंकिङ कसूर र चेक अनादरपछि सबैभन्दा धेरै दर्ता हुने मुद्दामध्ये सम्बन्धविच्छेद पर्छ। कतिपय अवस्थामा सामान्य वैवाहिक विवादपछि पनि दम्पती सिधै अदालत पुग्ने गरेको पाइन्छ।
पछिल्ला वर्षहरूमा सम्बन्धविच्छेदका मुद्दाको संख्या उल्लेख्य रूपमा बढ्दै गएको देखिन्छ। बदलिँदो सामाजिक परिवेश, आधुनिक जीवनशैली, र सामान्य वैवाहिक मतभेदलाई पनि चाँडै सम्बन्धविच्छेदतर्फ लैजाने प्रवृत्तिले यो समस्या देखिएको सरोकारवालाहरूको भनाइ छ।
वैदेशिक रोजगार, आर्थिक अभाव, पारिवारिक तनाव, अन्तरजातीय तथा प्रेमविवाह, परिवारको असहमति, घरेलु हिंसा, हेरचाहको अभाव, र सामाजिक मूल्य–मान्यतामा आएको परिवर्तनले सम्बन्धविच्छेदको दर बढाउन भूमिका खेलेको बुझाइ छ पर्सा जिल्ला अदालत बार एसोशिएसनका अध्यक्ष रामनारायण कुर्मीको ।
कानून व्यवसायीका अनुसार अदालतमा दर्ता भएका सबै मुद्दा सम्बन्धविच्छेदमै टुंगिँदैनन्। करिब आधाजसो मुद्दा मात्र सम्बन्धविच्छेदमा परिणत हुने र बाँकी दम्पती मेलमिलाप गरेर फर्किने उदाहरण पनि छन्।
अध्ययन वा रोजगारीका लागि डिपेन्डेन्ट भिसामा विदेश जाने केही युवा दम्पतीले विवाह भएको छोटो समयमै सम्बन्ध अन्त्यका लागि अदालत पुग्ने प्रवृत्ति पनि देखिएको छ। हतारमा गरिएको विवाह, पारिवारिक सहमतिको अभाव र सामाजिक दबाबले पनि यस्तो अवस्था निम्त्याउने गरेको देखिन्छ।
वृद्धावस्थामा पुगेका दम्पतीहरू पनि सम्बन्धविच्छेदका लागि अदालत आउने गरेका छन्, जसले सामाजिक संरचनामा आएको परिवर्तन झल्काउँछ।
पहिले विवाहलाई आजीवन सम्बन्धका रूपमा लिने परम्परा बलियो थियो भने अहिले यसलाई एक प्रकारको करारका रूपमा बुझ्ने प्रवृत्ति बढ्दै गएको छ। वैदेशिक रोजगारका कारण पति–पत्नी लामो समय छुट्टिनु पर्ने अवस्थाले पनि सम्बन्धमा दूरी बढाएर सम्बन्धविच्छेदमा असर पारिरहेको बताइन्छ।
सम्बन्धविच्छेदको बढ्दो दरलाई लिएर समाजमा गम्भीर बहस आवश्यक देखिएको छ । यो व्यक्तिगत स्वतन्त्रताको प्रयोग हो वा सामाजिक विकृतिको संकेत हो भन्ने विषयमा गहिरो अध्ययन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।