सभामुख पदका लागि एकल उम्मेदवारी परेपछि सांसद डीपी अर्याल निर्विरोध निर्वाचित हुने सुनिश्चित भएको छ, औपचारिक घोषणा भने हुन बाँकी छ।
सभामुख पदका लागि शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तय गरिएको थियो। उक्त अवधिमा अर्यालको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध हुने भएका हुन्।
प्रतिनिधिसभा नियमावलीको नियम ७ अनुसार सभामुख पदमा एक जनाको मात्रै मनोनयन परेमा प्रतिनिधिसभामा समर्थक सदस्यले प्रस्ताव पेश गरेपछि अध्यक्षता गर्ने व्यक्तिले प्रस्तावित सदस्यलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्ने व्यवस्था छ। सो घोषणा आगामी प्रतिनिधिसभा बैठकबाट गरिनेछ, जुन बैठक आइतबार बस्ने तय भएको छ।
प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्पष्ट बहुमतमा रहेकाले अन्य दलहरूले सभामुख पदमा उम्मेदवारी दिएका छैनन्। २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका मात्रै १८२ सांसद छन् भने नेपाली कांग्रेसका ३८, नेकपा एमालेका २५, नेकपा १७, श्रम संस्कृति पार्टीका ७ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ५ सांसद रहेका छन्।
सभामुख चयन भएसँगै उपसभामुखको निर्वाचन प्रक्रिया अघि बढ्नेछ। उपसभामुखको निर्वाचन सभामुखले तोकेको मिति र समयमा हुने व्यवस्था छ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सभामुख र उपसभामुख फरक दल र फरक लिङ्गका हुनुपर्ने प्रावधान छ। तर एकल उम्मेदवारी परेको अवस्थामा भने एउटै दलबाट पनि हुन सक्ने व्यवस्था रहेको उनले बताए।
हाल उपसभामुखबारे कुनै ठोस छलफल नभएको नेताहरूले बताएका छन्। प्रतिनिधिसभामा रास्वपासहित ६ दलको प्रतिनिधित्व रहेको छ।
निर्वाचित भएपछि सभामुखले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने हुन्छ भने उपसभामुखले राष्ट्रपतिको उपस्थितिमा सभामुखसमक्ष शपथ लिनेछन्।
सभामुख र उपसभामुख दुवै संवैधानिक परिषद्का सदस्य हुने भएकाले उपसभामुख कुन दलबाट हुने भन्ने विषय पनि चासोका साथ हेरिएको छ। नेपालको संविधानको धारा २८४ अनुसार संवैधानिक परिषद्ले प्रधानन्यायाधीश, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगलगायतका संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्तिका लागि सिफारिस गर्ने व्यवस्था छ।