आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले शीर्ष स्थानको स्कटल्याण्डलाई ६ विकेटले पराजित गर्दै सानदार जित दर्ता गरेको छ। यो जितसँगै नेपाल अंक तालिकामा उल्लेखनीय सुधार गर्दै पाँचौँ स्थानमा उक्लिएको छ।
यसअघि सातौँ स्थानमा रहेको नेपालले यो नतिजापछि क्यानडा र नामिबियालाई पछि पार्दै मध्यतालिकातर्फ आफ्नो स्थिति मजबुत बनाएको हो।
स्कटल्याण्डले दिएको १९५ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा ४ विकेटको क्षतिमा १९९ रन बनाउँदै सहजै पूरा गर्यो। कप्तान रोहित पौडेल र इशान पाण्डेले उत्कृष्ट ब्याटिङ गर्दै नेपालको जित सुनिश्चित गरे।
कप्तान रोहित पौडेलले अविजित ७४ रनको उत्कृष्ट पारी खेले। उनले ९८ बलमा ५ चौका र २ छक्का प्रहार गरे। इशान पाण्डेले ६१ बलमा ५ चौका र २ छक्कासहित ५५ रनको योगदान दिए। ओपनर कुशल भुर्तेलले २८ रन र आसिफ शेखले २९ रन जोडे। स्कटल्याण्डका मार्क वाटले २ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्ड ३९.१ ओभरमा १९४ रनमै अलआउट भयो। ब्रान्डन म्याकमुलनले ७३ रन र माइकल इङ्लिसले ५१ रन बनाउँदै टोलीलाई सम्मानजनक योगफलतर्फ डोर्याए पनि अन्य ब्याटरहरू ठूलो योगदान दिन असफल भए।
नेपालका बलरमध्ये ललित राजबंशीले उत्कृष्ट प्रदर्शन गर्दै ८ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिए। सन्दीप लामिछानेले १० ओभरमा ४७ रन दिँदै ३ विकेट चट्काए। सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले १–१ विकेट लिए।
यो जितसँगै नेपालको २७ खेलबाट २२ अंक पुगेको छ। समान अंक रहेको नामिबियालाई नेट रनरेटका आधारमा पछि पार्दै नेपाल पाँचौँ स्थानमा उक्लिएको हो। पराजित भए पनि स्कटल्याण्ड ३८ अंकसहित तालिकाको शीर्ष स्थानमा यथावत् रहेको छ।
विश्वकप छनोट प्रकिया
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत शीर्ष चार टोलीले सिधै २०२७ विश्वकप छनोट (World Cup Qualifier) मा स्थान बनाउने प्रावधान छ। बाँकी टोलीहरूले प्लेअफमार्फत विश्वकप छनोट यात्रालाई निरन्तरता दिने अवसर पाउनेछन्।
हाल नेपाल पाँचौँ स्थानमा रहेको अवस्थामा शीर्ष चार भित्र स्थान बनाउनको लागि प्रतिस्पर्धा अझै रोचक बनेको छ। बाँकी खेलहरूमा लगातार जित निकाल्न सके नेपालले सिधै क्वालिफायरमा पुग्ने सम्भावना कायम राख्न सक्छ। तर खराब प्रदर्शन भएमा प्लेअफमार्फत मात्र अघि बढ्ने अवस्था आउनेछ।
त्यसैले आगामी खेलहरू नेपालका लागि निर्णायक हुनेछन्, जहाँ प्रत्येक जितले विश्वकप यात्रालाई अझ नजिक पुर्याउनेछ।