नवगठित सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भोलि (शुक्रबार) मुलुकको मुख्य व्यापारिक नाका वीरगञ्जको भ्रमणमा आउने आउँदैछन् । अर्थ मन्त्रालयका अनुसार पदभार ग्रहण गरेपछि अर्थतन्त्रको सुधार र राजस्व संकलनको अवस्था बुझ्न उनी वीरगञ्जलाई प्राथमिकतामा राखेका हुन् ।
अर्थमन्त्री वाग्ले भोलि बिहान हवाईजहाजमार्फत सिमरा विमानस्थल ओर्लिने कार्यक्रम छ । त्यहाँबाट उनले एकीकृत जाँच चौकी (आईसीपी), वीरगञ्ज भन्सार कार्यालय तथा सिर्सियास्थित ड्राइपोर्ट (सुक्खा बन्दरगाह) कार्यालयको स्थलगत अनुगमन गर्नुहुनेछ । अन्तर्राष्ट्रिय व्यापारको मेरुदण्ड मानिने यी कार्यालयहरूको सेवा प्रवाहमा सुधार र सहजीकरणका लागि मन्त्री वाग्लेले विशेष चासो राखेको बुझिएको छ ।
भ्रमणका क्रममा अर्थमन्त्रीले वीरगञ्ज उद्योग वाणिज्य संघको कार्यक्रममा सहभागी भई स्थानीय उद्योगी तथा व्यवसायीहरूसँग अन्तक्र्रिया गर्ने कार्यक्रम छ । व्यवसायीहरूले भन्सार प्रक्रियामा हुने ढिलासुस्ती, बढ्दो ढुवानी लागत, नीतिगत अस्पष्टता र सीमाक्षेत्रका प्राविधिक समस्याबारे मन्त्री वाग्लेलाई जानकारी गराउने तयारी गरेका छन् ।
अर्थ मन्त्रालयका अनुसार यो भ्रमणको मुख्य उद्देश्य सीमाक्षेत्रको वास्तविक व्यापारिक अवस्था बुझ्नु, राजस्व संकलनको वर्तमान स्थिति समीक्षा गर्नु र निजी क्षेत्रले भोगिरहेका चुनौतीहरूको प्रत्यक्ष जानकारी लिनु रहेको छ ।
“अर्थतन्त्रको वर्तमान अवस्था, राजस्व वृद्धि, निजी क्षेत्रलाई प्रोत्साहन र लगानीमैत्री वातावरण निर्माणका लागि सरकारको आगामी नीतिको विषयमा मन्त्रीज्यूले आफ्नो धारणा राख्नुहुनेछ,“ मन्त्रालयको स्रोतले जनाएको छ । मन्त्री वाग्लेको यस भ्रमणलाई वीरगञ्जका सरोकारवालाहरूले व्यापारिक सुधारको संकेतका रूपमा हेरेका छन् ।