भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको आयोगले सञ्चारकर्मी र पत्रकारबीच स्पष्ट भिन्नता हुनु आवश्यक भएको बताएको छ। आयोगले प्रेस काउन्सिलमा हुने नियुक्ति पारदर्शी, प्रभावकारी र स्वार्थरहित आधारमा हुनुपर्ने पनि उल्लेख गरेको छ।
अधिवेशन प्रतिवेदनमा भनिएको छ, “हरेक पत्रकार सञ्चारकर्मी हुन सक्छन्, तर हरेक सञ्चारकर्मी पत्रकार हुँदैनन्। त्यसैले पत्रकार र सञ्चारकर्मीको स्पष्ट परिभाषा हुनुपर्छ। पत्रकार बन्नका लागि निश्चित योग्यता र शर्त निर्धारण गर्नुपर्छ।”
आयोगले पत्रकारका लागि आवश्यक योग्यता र मापदण्ड यसरी उल्लेख गरेको छ:
- जातीय, क्षेत्रीय, भाषिक, लैङ्गिक र मानवीय दृष्टिले अनुचित कुनै पनि साम्प्रदायिक गतिविधिमा संलग्न नभएको हुनुपर्ने।
- समाचार, लेख तथा अन्य सामग्रीको असर र प्रभावको विश्लेषण गर्न सक्ने क्षमता हुनुपर्ने।
- आर्थिक दृष्टिले पारदर्शी हुनुपर्ने; अपारदर्शी लगानी, विदेशी लगानी, गैरसरकारी संस्था तथा कुनै पनि राजनीतिक दलसँग आबद्धता नरहेको हुनुपर्ने।
- कम्तिमा स्नातक तहको अध्ययन पूरा गरेको हुनुपर्ने।
- कम्तिमा १५ वर्षसम्म संवाददाता, स्तम्भकार, अन्तर्वार्ताकार वा सहायक सम्पादकको रूपमा अनुभव भएको हुनुपर्ने।
- नेपाली भाषामा शुद्ध, स्पष्ट, सन्देशमूलक र त्रुटिरहित लेखन क्षमता।
- कम्तिमा २५ वर्ष उमेर पूरा भएको हुनुपर्ने।
- फौजदारी अभियोगमा सजाय नपाएको हुनुपर्ने।
- राष्ट्रिय सुरक्षा र राष्ट्रहितप्रति जिम्मेवार र संवेदनशील, पेशागत कर्ममा क्रियाशील, राष्ट्रको सार्वभौमिकता, अखण्डता, सामाजिक सद्भाव र एकताका पक्षमा उभिएको हुनुपर्ने।
त्यस्तै, आयोगले पत्रकारिता र निजी सञ्चार सेवाबीचको भिन्नतालाई स्पष्ट पार्दै, यसअन्तर्गत फरक–फरक कानून लाग्ने व्यवस्था गर्न सुझाव दिएको छ। प्रतिवेदनमा सामाजिक सञ्जाल जस्तै युट्युब, फेसबुक, ह्वाट्सएप, मेसेन्जर, इन्स्टाग्राम, एक्स, वीच्याट, टिकटक आदिलाई निजी सञ्चार साधन/साधकको रूपमा परिभाषित गर्न वाञ्छनीय रहेको उल्लेख छ।