वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सम्पूर्ण मासु, माछा तथा मासुजन्य पदार्थको उत्पादन, बिक्री–वितरण र व्यापार गर्ने व्यवसायीहरूका लागि व्यवसाय दर्ता तथा नवीकरण अनिवार्य गरिएको छ ।
महानगरपालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाले सूचना जारी गर्दै आगामी असार १२ गतेभित्र व्यवसाय दर्ता तथा नवीकरण गरिसक्न कडा निर्देशन दिएको हो ।
जिल्ला प्रशासन कार्यालय, पर्सामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको समन्वयात्मक बैठकको निर्णयअनुसार पर्सा जिल्लाका सबै स्थानीय तहहरूमा मासु तथा माछा व्यवसायलाई व्यवस्थित, स्वच्छ, गुणस्तरीय र उपभोक्तामैत्री बनाउन यो कदम चालिएको महानगरपालिकाले जनाएको छ ।
मापदण्ड पूरा नगरे कारबाही
महानगरपालिकाले हालसम्म दर्ता नभएका वा नवीकरण नगरेका व्यवसायीहरूलाई आवश्यक कागजातसहित महानगरको पशु सेवा शाखामा सम्पर्क गर्न आग्रह गरेको छ ।
तोकिने समयसीमा (२०८३ असार १२ गते) भित्र दर्ता वा नवीकरण नगरी सञ्चालन हुने तथा मापदण्ड विपरीत पाइने व्यवसायहरूलाई प्रचलित कानूनअनुसार कडा कारबाही गरिने चेतावनी पनि दिइएको छ ।
सरसफाइ र स्वास्थ्य मापदण्ड अनिवार्य
महानगरले व्यवसाय सञ्चालनका लागि निम्न मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने जनाएको छ:
- व्यवसाय स्थलमा उच्च सरसफाइ कायम गर्नुपर्ने
- मासुजन्य पदार्थको उचित भण्डारण व्यवस्था हुनुपर्ने
- व्यवस्थित वधशाला (स्लटरहाउस) को मात्र प्रयोग गर्नुपर्ने
- उपभोक्ता स्वास्थ्य सुरक्षा सम्बन्धी सबै मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने
महानगरपालिकाका पशु चिकित्सक तथा छैटौँ तहका अधिकृत डा. सुदिप कुमार शर्माद्वारा हस्ताक्षरित सूचनाको बोधार्थ जिल्ला प्रशासन कार्यालय पर्सा, वीरगञ्ज उद्योग वाणिज्य संघ तथा माछा–मासु व्यवसायी संघलगायत सरोकारवाला निकायहरूलाई पनि पठाइएको छ ।
महानगरले बजारलाई स्वच्छ, व्यवस्थित र मर्यादित बनाउन सबै व्यवसायी तथा सर्वसाधारणको सहयोग आवश्यक रहेको जनाएको छ ।