नेपाली बजारमा सुनको भाउ लगातार ओरालो लागिरहेको छ। सोमबार सुनको मूल्य प्रतितोला ६ हजार ५ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो, जुन दिन पनि मूल्य १२ हजार ५ सय रुपैयाँले घटेको थियो।
यससँगै एक साताको अवधिमा सुनको भाउ कुल ३४ हजार रुपैयाँले घटिसकेको छ। गत सोमबार भने सुन प्रतितोला ३ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यसअघि गत माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुग्दै प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको थियो।
अन्तर्राष्ट्रिय बजारका कारण सुनको मूल्यमा गिरावट आएको विश्लेषण गरिएको छ। पश्चिम एसियाली मुलुकहरूमा बढेको द्वन्द्वका कारण कच्चा तेलको मूल्य बढ्दा अमेरिकी डलरको माग उच्च भएको छ। डलर जोहो गर्न सुन बिक्री बढेसँगै यसको मूल्यमा दबाब परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
त्यसैगरी, तेलको मूल्य वृद्धिसँगै विश्वव्यापी महँगी बढ्दै जाँदा विभिन्न देशहरूमा ब्याजदर बढाउने दबाब सिर्जना भएको छ। उच्च ब्याजदरले सुनजस्ता बहुमूल्य धातुको आकर्षण घटाउने भएकाले मूल्यमा गिरावट आएको हो।
यता, चाँदीको भाउ पनि सोमबार घटेको छ। चाँदी प्रतितोला ११५ रुपैयाँले घट्दै ४ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन यसको मूल्य प्रतितोला ४ हजार ५४० रुपैयाँ रहेको थियो।