भारतको बिहार क्षेत्रबाट विकसित भएको मौसमी प्रणाली बागमती प्रदेशमा प्रवेश गर्दै भारी वर्षा गराउने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।
मौसमविद् उज्जवल उपाध्यायका अनुसार गोरखपुर–बगाहा हुँदै नेपाल प्रवेश गरिरहेको उक्त प्रणाली हाल उत्तर–पूर्वतर्फ सर्ने क्रममा रहेको छ। नेपालमा पहिलेदेखि सक्रिय वर्षा प्रणालीसँग ठोक्किने भएकाले केही समयका लागि भीषण वर्षा हुने उच्च सम्भावना रहेको उनले बताए।
उनका अनुसार यो प्रणाली पश्चिम चितवनबाट सुरु भई पूर्वतर्फ विस्तार हुनेछ। यसको प्रभावका कारण चितवनका भण्डारा, टाँडी, भरतपुर, मुग्लिङ र शक्तिखोर क्षेत्रमा ठूलो वर्षा हुने अनुमान गरिएको छ।
त्यस्तै, प्रणाली धादिङ र उत्तरी मकवानपुर हुँदै बिहान करिब १० देखि ११ बजेसम्म काठमाडौं उपत्यकामा आइपुग्ने अनुमान गरिएको छ। काठमाडौं आइपुग्दा प्रणाली केही कमजोर हुने भएकाले उपत्यकामा अत्यधिक वर्षाको सम्भावना भने कम रहेको मौसमविद्को भनाइ छ।
मौसमविद्का अनुसार वर्षाको अवधि बढीमा तीन घण्टासम्म रहनेछ। वर्षापछि पश्चिम, काठमाडौं उपत्यका तथा मध्य क्षेत्रको मौसम क्रमशः सुधार हुँदै जाने अपेक्षा गरिएको छ। मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज रातिबाट प्रणालीको प्रभाव कम हुँदै जाने सम्भावना छ।
यसअघि शुक्रबार देशका विभिन्न स्थानमा मेघगर्जनसहित हुरीबतास र असिनापानी परेको थियो, जसका कारण जनजीवन प्रभावित हुनुका साथै केही स्थानमा बालीनाली र संरचनामा सामान्य क्षति पुगेको थियो।
लेटाङमा सबैभन्दा बढी वर्षा
जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा मोरङको लेटाङमा रेकर्ड भएको छ। आज बिहान सवा ८ बजेसम्मको विवरणअनुसार त्यहाँ ६१.६ मिलिमिटर वर्षा मापन गरिएको छ।
वर्षासँगै आएको बाढी र हावाहुरीका कारण विभिन्न जिल्लामा सडक, विद्युत तथा सञ्चार सेवा समेत प्रभावित भएका छन्।
मौसमविद्हरूले मौसममा भइरहेको परिवर्तनलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सतर्कता अपनाउन आग्रह गरेका छन्। विशेषगरी हुरीबतास, चट्याङ र आकस्मिक वर्षाबाट बच्न आवश्यक सावधानी अपनाउन सुझाव दिइएको छ।