चलचित्र पत्रकार सङ्घ नेपाल पर्साले पर्सा क्षेत्र नं. १ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तलाई सम्मान गर्दै चलचित्रमार्फत पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्न आग्रह गरेको छ।
शुक्रबार वीरगञ्जमा आयोजित विशेष कार्यक्रममा सङ्घका अध्यक्ष सूर्यनारायण वि.क. सहितका पदाधिकारीहरूले सांसद पन्तलाई बधाई तथा शुभकामना व्यक्त गर्दै सफल कार्यकालको कामना गरेका हुन्।
कार्यक्रममा बोल्दै अध्यक्ष वि.क.ले पर्सा तथा समग्र मधेस प्रदेशमा चलचित्र पर्यटनको ठूलो सम्भावना हुँदाहुँदै पनि राज्यको पर्याप्त ध्यान पुग्न नसकेकोप्रति चिन्ता व्यक्त गरे। उनले चलचित्र क्षेत्रको उपयोग गर्दै पर्यटन प्रवर्द्धनका लागि विशेष पहल गर्न सांसद पन्तसँग आग्रह गरे।
कार्यक्रमका सहभागीहरूले पर्साका धार्मिक तथा पर्यटकीय स्थलहरूलाई चलचित्र छायाङ्कनका लागि आकर्षक गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले विन्दबासिनी मन्दिर, भाठाधाम र पारसनाथ मन्दिरजस्ता ऐतिहासिक स्थलहरूको संरक्षण तथा व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याए। साथै, पर्सा राष्ट्रिय निकुञ्जलाई पर्यटकीय कोरिडोरका रूपमा विकास गर्न सके स्थानीयको जीविकोपार्जनमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरिएको थियो।
सम्मान ग्रहण गर्दै सांसद पन्तले आफू होटल तथा पर्यटन व्यवसायसँगै चलचित्र निर्माणमा समेत संलग्न रहेको उल्लेख गर्दै क्षेत्रका समस्या र सम्भावनाबारे जानकार रहेको बताए। उनले चलचित्र क्षेत्रको विकासका लागि नीतिगत तथा संरचनागत दुवै तहमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति समेत रहेका पन्त नेपाली चलचित्र ‘राजनीति’ र ‘मेला’ का निर्माता हुन्। कार्यक्रममा पत्रकारहरूले सांसदको सार्वजनिक अभिव्यक्ति र कार्यशैलीमाथि निरन्तर खबरदारी गर्ने प्रतिबद्धता समेत जनाएका थिए।
कार्यक्रममा सङ्घका उपाध्यक्ष आनन्द पटेल, सचिव रञ्जित यादव, सदस्यहरू जय यादव, सन्तोष कुशवाहा, अखिल पटेललगायतको उपस्थिति रहेको थियो। सङ्घले लामो समयदेखि नेपाली चलचित्रको बजार विस्तार र स्थानीय चलचित्रकर्मीलाई प्रोत्साहन गर्दै आएको छ।