निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) को दोस्रो राष्ट्रिय परिषद् बैठकमा पर्सा जिल्ला कार्यसमिति उत्कृष्ट कार्यसम्पादनका लागि मधेश प्रदेशबाट एक्लो जिल्लाका रूपमा सम्मानित भएको छ।
निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) को दोस्रो राष्ट्रिय परिषद् बैठक २०८२ का अवसरमा पर्सा जिल्ला कार्यसमितिलाई विशेष सम्मान प्रदान गरिएको छ। बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मधेश प्रदेशबाट पर्सा मात्र उत्कृष्ट कार्यसम्पादनका लागि छनोट भएको हो।
प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीले सम्मानपत्र ग्रहण गरेका थिए। उनलाई प्याब्सनका राष्ट्रिय अध्यक्ष कृष्ण प्रसाद अधिकारी र प्रमुख सल्लाहकार डिके ढुंगानाले संयुक्त रूपमा सम्मान प्रदान गरेका हुन्।
प्याब्सनका सचिव अशोक संग्रौलाका अनुसार संगठनका नीति, नियम तथा निर्देशनहरूको पूर्ण पालना गर्दै संगठनको गरिमा उच्च राख्न सक्रिय भूमिका खेलेको आधारमा पर्सा कार्यसमितिलाई सम्मान गरिएको हो। साथै, शैक्षिक गुणस्तर अभिवृद्धि, संस्थागत विद्यालयहरूको हकहित संरक्षण र संगठन सुदृढीकरणमा पर्साले उल्लेखनीय योगदान पुर्याएको उल्लेख गरिएको छ।
पर्सा कार्यसमितिले विद्यालय, शिक्षक र विद्यार्थी केन्द्रित विविध कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ। शिक्षक तालिम, विद्यार्थी लक्षित अतिरिक्त क्रियाकलाप तथा अभिभावक–विद्यालय समन्वयलाई सुदृढ बनाउने पहलले जिल्लामा निजी विद्यालयहरूको स्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको मानिन्छ।
कार्यक्रममा देशभरका विभिन्न जिल्ला कार्यसमितिहरूको सहभागिता रहेको थियो। परिषद् बैठकले आगामी शैक्षिक नीति, संगठनको रणनीति तथा संस्थागत विद्यालयहरूले भोगिरहेका चुनौती र समाधानका विषयमा समेत विस्तृत छलफल गरेको थियो।
प्याब्सन पर्साको यो उपलब्धिलाई शिक्षा क्षेत्रमा सक्रिय सरोकारवालाहरूले सकारात्मक रूपमा लिएका छन्। यसले अन्य जिल्लाहरूलाई पनि संगठनात्मक अनुशासन र शैक्षिक गुणस्तर सुधारतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ।