प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण र सफल बनाउन योगदान पुर्याएको भन्दै पर्साका प्रहरी उपरीक्षक सुदिपराज पाठक नगदसहित सम्मानित भएका छन्।
भर्खरै सम्पन्न प्रतिनिधि सभा निर्वाचनलाई सफलतापूर्वक र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदिपराज पाठक सम्मानित भएका छन्। प्रहरी महानिरीक्षक (आईजिपी) दानबहादुर कार्कीको चैत २ गतेको निर्णयअनुसार उनलाई नगद पुरस्कार प्रदान गरिएको हो।
गत फागुन २१ गते सम्पन्न निर्वाचनमा सीमावर्ती जिल्ला पर्साको संवेदनशीलतालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्थालाई चुस्त, प्रभावकारी र व्यवस्थित बनाएको भन्दै पाठकको कार्यको उच्च मूल्यांकन गरिएको हो।
प्रहरी महानिरीक्षक कार्कीले उत्कृष्ट कार्यसम्पादन गर्ने एआईजीदेखि प्रहरी जवानसम्मका ६९ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेका थिए। उनले यस्तो पुरस्कारले प्रहरी कर्मचारीमा सकारात्मक ऊर्जा थपिने र आगामी दिनमा अझ जिम्मेवारीपूर्वक काम गर्न हौसला मिल्ने विश्वास व्यक्त गरेका छन्।
पुरस्कृत हुनेहरूको सूचीमा एआईजी उमाप्रसाद चतुर्वेदी र ईश्वर कार्की रहेका छन् भने डिआईजीहरूमा अरुण पौडेल, गोविन्द थपलिया, विनोद घिमिरे, दीपेन्द्र जिसीलगायत ७ जना समावेश छन्।
त्यसैगरी एसपीतर्फ झापाकी बसुन्धरा खड्का, चितवनका गोविन्द पुरी, सिरहाका बासुदेव पाठकलगायत १९ जना एसपी पुरस्कृत भएका छन्।
भारतसँग खुला सिमाना जोडिएको पर्सा जिल्ला सुरक्षाका दृष्टिले संवेदनशील मानिन्छ। निर्वाचनका क्रममा हुन सक्ने सम्भावित झडप, धाँधली तथा अवाञ्छित गतिविधि नियन्त्रण गर्न एसपी पाठकको नेतृत्वमा गरिएको सुरक्षा परिचालन प्रभावकारी देखिएको थियो।