निर्वाचनमा भोगेको हारको नैतिक जिम्मेवारी लिँदै सभापति पदबाट राजीनामा दिएका गगन थापाको राजीनामा अस्वीकृत गर्ने तयारी नेपाली कांग्रेसले गरेको छ।
नेपाली कांग्रेसको शुक्रबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुने भएको छ। थापाले २१ फागुनमा सम्पन्न निर्वाचनमा पराजित भएपछि नैतिक जिम्मेवारी लिँदै उपसभापति विश्वप्रकाश शर्मालाई बुधबार राजीनामा पत्र बुझाएका थिए।
शुक्रबारको बैठकमा थापा सहभागी नहुने एक नेताले बताएका छन्। थापाको अनुपस्थितिमा बैठकको अध्यक्षता उपसभापति शर्माले गर्नेछन्। बैठकमा शर्माले थापाको राजीनामाबारे औपचारिक जानकारी गराउँदै सो राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस गर्ने तयारी गरेका छन्।
कांग्रेसका एक पदाधिकारीका अनुसार चुनावी हारको जिम्मेवारी एक व्यक्तिमा मात्र नआउने, विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई छोटो समयमै चुनावमा जानुपर्ने बाध्यता लगायतका कारण उल्लेख गर्दै राजीनामा अस्वीकृत गर्न प्रस्ताव अघि सारिनेछ।
पुस अन्तिम साता सम्पन्न विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएका थापा २१ फागुनको निर्वाचनमा सर्लाही–४ बाट उम्मेदवार बनेका थिए। तर, उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेस कुमार सिंहसँग पराजित भएका थिए। विशेष महाधिवेशनबाट निर्वाचित भई चुनाव लडेका अधिकांश पदाधिकारी नै पराजित भएपछि नेतृत्वमाथि नैतिक प्रश्न उठेको थियो।
कांग्रेसले देशभरका निर्वाचन क्षेत्रबाट विजय र पराजयका कारणसहित प्रतिवेदन माग गरेको थियो। ती प्रतिवेदनको साझा निष्कर्ष समेत बैठकमा प्रस्तुत गरिने र त्यसपछि राजीनामा अस्वीकृत गर्ने निर्णयमा पुगिने तयारी रहेको स्रोतले जनाएको छ।
यसअघि पनि थापाले पराजयलगत्तै राजीनामा दिन खोजे पनि उपसभापति शर्मासहितका नेताहरूले उनलाई रोकेका थिए। विभिन्न जिल्लाका नेताहरूले समेत राजीनामा नदिन आग्रह गर्दै संयुक्त विज्ञप्ति जारी गरेका थिए। तर, बुधबार शीर्ष नेताहरूको बैठकपछि थापाले औपचारिक रूपमा राजीनामा बुझाएका हुन्।