वीरगन्ज महानगरपालिकाको फोहर व्यवस्थापन केन्द्रमा निर्माणाधीन प्लास्टिकजन्य फोहर प्रशोधन प्लान्टको काम अन्तिम चरणमा पुगेको छ। महानगर क्षेत्रबाट संकलन हुने प्लास्टिक फोहरलाई वैज्ञानिक तरिकाले प्रशोधन गरी पुनः प्रयोगयोग्य सामग्रीमा रूपान्तरण गर्ने उद्देश्यले उक्त प्लान्ट निर्माण गरिएको हो।
महानगरपालिकाले फोहर व्यवस्थापनलाई दिगो, वैज्ञानिक र वातावरणमैत्री बनाउने नीतिअनुसार आधुनिक प्रविधियुक्त प्लान्ट निर्माण गरिरहेको जनाएको छ। प्लान्ट सञ्चालनमा आएपछि वीरगन्ज महानगरभित्र दैनिक संकलन हुने प्लास्टिकजन्य फोहर छुट्याएर प्रशोधन गरिनेछ।
वन तथा वातावरण शाखा प्रमुख राकेश साहका अनुसार, सूर्य नेपाल प्रालिको करिब चार करोड रुपैयाँ लगानीमा निर्माण भइरहेको प्लान्टको काम अन्तिम चरणमा पुगेको छ र छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। निर्माण भइरहेको प्लान्टले दैनिक करिब २० मेट्रिक टन प्लास्टिकजन्य फोहर प्रशोधन गर्ने क्षमता राख्नेछ। वीरगन्ज महानगर क्षेत्रमा हाल दैनिक करिब ६०–६५ टन फोहर संकलन भइरहेको छ, तीमध्ये प्लास्टिकजन्य फोहर छुट्याएर प्रशोधन गरिने व्यवस्था मिलाइनेछ।
गत असोजमा वीरगन्ज महानगरपालिका, जिरो वेस्ट इनिसिएटिभ नेपाल र सूर्य नेपाल प्रालिबीच फोहर व्यवस्थापन तथा वातावरण संरक्षणसम्बन्धी त्रिपक्षीय सम्झौता भएपछि परियोजना कार्यान्वयन सुरु भएको हो। निजी क्षेत्रको लगानी र सहकार्यमा महानगरको फोहर व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।
बुधबार महानगर प्रमुख राजेशमान सिंह र सूर्य नेपाल प्रालिका उद्योग प्रमुख सुरेशकाजी महर्जनसहितको टोलीले निर्माण स्थलमा प्लान्टको प्रगति निरीक्षण गरेका थिए। निर्माण सम्पन्न भएपछि प्लान्ट वीरगन्ज महानगरपालिकालाई हस्तान्तरण गरिनेछ र संचालन तथा व्यवस्थापनको जिम्मेवारी महानगरपालिकाले सम्हाल्नेछ भने प्राविधिक जनशक्ति व्यवस्थापन जिरो वेस्ट इनिसिएटिभ नेपालले गर्नेछ।
स्थलगत निरीक्षणका क्रममा प्रमुख सिंहले वीरगन्जलाई फोहरमुक्त र हरित सहर बनाउने दीर्घकालीन लक्ष्यअनुसार प्लान्ट निर्माण गरिएको बताए। उनले भने, “अब फोहरलाई समस्या मात्र होइन, स्रोतका रूपमा उपयोग गर्ने दिशामा महानगर अघि बढिरहेको छ।”
सूर्य नेपाल प्रालिका उद्योग प्रमुख महर्जनले सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले परियोजनामा लगानी गरेको जानकारी दिए। उनले भने, “उद्योगले नाफामुखी व्यापारसँगै समाज र वातावरणप्रति उत्तरदायी रहने प्रतिबद्धतासहित सहकार्य गरेको हो।”
यस प्लान्ट सञ्चालनमा आएपछि सहरभरिबाट संकलित फोहरलाई वर्गीकरण गरी प्लास्टिकजन्य फोहर छुट्याएर प्रशोधन गरिनेछ र पुनः प्रयोगयोग्य सामग्रीमा रूपान्तरण गरिनेछ। यसले फोहोर व्यवस्थापन प्रणाली सुधार्ने र वातावरण संरक्षणमा दीर्घकालीन योगदान पुर्याउने अपेक्षा गरिएको छ।