मधेश प्रदेशको राजनीतिमा नयाँ शक्ति उदाएको संकेत देखिएको छ। प्रतिनिधि सभातर्फको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत जारी मतगणनाको पछिल्लो परिणामले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई भारी अग्रतामा देखाएको छ। मधेशमा परम्परागत रूपमा बलियो मानिने दलहरूलाई निकै पछाडि पार्दै रास्वपाले १२ लाखभन्दा बढी मत प्राप्त गरेको प्रारम्भिक तथ्याङ्कले देखाएको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार मधेश प्रदेशमा प्रतिनिधि सभाको समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी मत प्राप्त गरेको छ।
पछिल्लो अपडेटअनुसार रास्वपाले १२ लाख ८ हजार ४४३ मत प्राप्त गर्दै स्पष्ट अग्रता कायम गरेको छ। यो नतिजाले मधेश प्रदेशको चुनावी राजनीतिमा नयाँ शक्ति बलियो रूपमा उदाएको संकेत गरेको विश्लेषण गरिएको छ।
परम्परागत शक्ति मानिने नेपाली काँग्रेस दोस्रो स्थानमा सीमित भएको छ। काँग्रेसले हालसम्म २ लाख ६८ हजार १८४ मत प्राप्त गरेको छ। त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) १ लाख ७५ हजार ३२५ मतसहित तेस्रो स्थानमा रहेको छ।
मधेश केन्द्रित दलहरूको स्थिति पनि अपेक्षा गरेभन्दा कमजोर देखिएको छ। जनता समाजवादी पार्टी, नेपालले १ लाख २८ हजार २५० मत प्राप्त गरेको छ भने जनमत पार्टीले ४८ हजार ५७२ मत पाएको छ।
त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीले ९३ हजार ३१८ मत प्राप्त गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ३३ हजार ९१६ मत पाएको निर्वाचन आयोगले जनाएको छ।
हाल देखिएको मत परिणामले मधेश प्रदेशको राजनीतिक समीकरणमा ठूलो परिवर्तनको संकेत गरेको छ। यद्यपि यो तथ्याङ्क मतगणनाको एक चरणको मात्र भएकाले अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन आयोगले स्पष्ट पारेको छ।
अन्तिम मत परिणाम सार्वजनिक भएपछि सिट सङ्ख्या तथा दलहरूको स्थितिमा केही फेरबदल हुन सक्ने जनाइएको छ।