मधेस प्रदेशको बारा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक सफलता हासिल गर्दै चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ। अन्तिम मतपरिणामअनुसार रास्वपाका उम्मेदवारहरूले पुराना र स्थापित दलहरूलाई निकै पछाडि पार्दै भारी मतान्तरका साथ जित दर्ता गरेका हुन्।
बारा निर्वाचन क्षेत्र नम्बर–१
बारा–१ बाट रास्वपाका गणेश धिमाल ३९ हजार ९१८ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शम्भुबहादुर बुढाथोकीले १४ हजार २२३ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का अच्युतप्रसाद मैनालीले ११ हजार ६४५ मत प्राप्त गरेका छन्।
बारा निर्वाचन क्षेत्र नम्बर–२
बारा–२ मा रास्वपाका उम्मेदवार चन्दनकुमार सिंह ३५ हजार ५९० मतसहित विजयी भएका छन्।
उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा), नेपालका रामकिशोरप्रसाद यादवले १४ हजार १९६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका भैयारामप्रसाद यादवले ११ हजार ८३७ मत प्राप्त गरेका छन्।
बारा निर्वाचन क्षेत्र नम्बर–३
बारा–३ मा रास्वपाका उम्मेदवार अरबिन्द साह ४० हजार ६९७ मत प्राप्त गर्दै निर्वाचित भएका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका फरमुल्लाह मन्सुरले १० हजार ५२ मत प्राप्त गरेका छन् भने जनता समाजवादी पार्टीका रामबाबु कुमार यादवले ६ हजार ८८४ मत प्राप्त गरेका छन्। साहले मन्सुरलाई ३० हजार ६४५ मतान्तरले पराजित गरेका हुन्।
बारा निर्वाचन क्षेत्र नम्बर–४
बारा–४ मा पनि रास्वपाका उम्मेदवार रहवर अन्सारी विजयी भएका छन्। उनले ४१ हजार २०० मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का कृष्णकुमार श्रेष्ठले ११ हजार ६३९ मत प्राप्त गरेका छन् भने जनता समाजवादी पार्टीका सञ्जुसाह कानुले ७ हजार ५९३ मत प्राप्त गरेका छन्।
यससँगै बारा जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा रास्वपाले ‘क्लिन स्वीप’ गर्दै मधेस प्रदेशको राजनीतिमा नयाँ शक्ति उदाएको संकेत दिएको छ। जिल्लाभर रास्वपाका समर्थकहरूले विजयोत्सव मनाइरहेका छन्।