“विकास र समृद्धिका लागि स्पष्ट योजना लिएर आएको छु, अब पर्सा–१ ले काम गर्ने प्रतिनिधि छान्नुपर्छ,” कांग्रेसका उम्मेदवार अनिल रुङ्टाले बताएका छन्।
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा रुङ्टाले आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै घरदैलो, कोणसभा तथा सामुदायिक भेटघाटलाई निरन्तरता दिएका छन्। उनले मतदातासँग प्रत्यक्ष संवाद गर्दै सडक विस्तार, ढल तथा खानेपानी व्यवस्थापन, सरसफाइ, ट्राफिक व्यवस्थापन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेको बताएका छन्।
“बिरगंजको आर्थिक सम्भावनालाई व्यवस्थित रूपमा अघि बढाउन सकियो भने क्षेत्रको समग्र विकास सम्भव छ,” उनले भने, “व्यापारिक केन्द्रका रूपमा चिनिने यस क्षेत्रलाई पूर्वाधार र व्यवस्थापनमा सुधार गरी नयाँ उचाइमा पुर्याउनुपर्छ।”
रुङ्टाको कार्यक्रममा व्यापारी, युवा, महिला समूह तथा सामाजिक अभियन्ताहरूको उल्लेख्य सहभागिता देखिएको छ। स्थानीय मतदाताले स्पष्ट योजना र सक्रिय उपस्थितिले विश्वास बढेको प्रतिक्रिया दिएका छन्।
निर्वाचनको मिति नजिकिँदै जाँदा रुङ्टाले मतदातासँगको प्रत्यक्ष संवादलाई थप सशक्त बनाउने रणनीति लिएको बताएका छन्। पर्सा–१ मा देखिएको सक्रियता र उत्साहले यसपटकको प्रतिस्पर्धा रोचक बन्ने संकेत गरेको छ।