निर्वाचन रिपोर्टिङलाई निष्पक्ष, जिम्मेवार र आचारसंहिताअनुरूप बनाउन लक्षित एकदिने अभिमुखिकरण कार्यक्रम बुधबार वीरगञ्जस्थित होटल गेटवेमा सम्पन्न भएको छ।
नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयको आयोजनामा भएको कार्यक्रममा मधेस प्रदेशका आठवटै जिल्लाका शाखा अध्यक्ष, पदाधिकारी तथा फिल्डमा सक्रिय पत्रकारहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण महासंघ मधेस प्रदेश समितिले गरेको थियो भने अध्यक्षता केन्द्रीय महिला उपाध्यक्ष नितु पंडितले गर्नुभएको थियो।

अभिमुखिकरणका क्रममा सहभागी पत्रकारहरूलाई चार समूहमा विभाजन गरी निर्वाचन आचारसंहिता पालनाको विषयमा विस्तृत छलफल गराइएको थियो। निर्वाचनका समयमा प्रकाशित समाचारले आमजनतामा पार्ने प्रभाव, मतदाताको धारणा निर्माणमा सञ्चारमाध्यमको भूमिका तथा तथ्यपरक र सन्तुलित रिपोर्टिङको आवश्यकताबारे केन्द्रित बहस भएको थियो। छलफलपछि प्रत्येक समूहले तयार पारेका निष्कर्ष तथा सुझावहरू सामूहिक रूपमा प्रस्तुत गरेका थिए।

कार्यक्रममा महासंघ मधेस प्रदेश अध्यक्ष श्याम बञ्जाराले सिक्दै काम गर्न र सुरक्षित तरिकाले फिल्डमा गई समाचार संकलन गर्न सुझाव दिए। पत्रकारले गर्ने मत सर्वेक्षण, समाचारमा त्रुटि देखिए सच्याउने दायित्व तथा कुनै पनि राजनीतिक दल वा व्यक्तिलाई प्रत्यक्ष–अप्रत्यक्ष रूपमा फाइदा–बेफाइदा पुग्ने सामग्री प्रकाशन नगर्ने विषयमा समेत व्यापक छलफल भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले यस्ता अभिमुखिकरणले पत्रकारको लेखाइ, बुझाइ र समाचार उत्पादन प्रक्रियामा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे। त्यसैगरी पर्सा निर्वाचन क्षेत्र नं. २ का निर्वाचन अधिकृत मधुसुदन आचार्य, महासंघका केन्द्रीय सचिव अशोक तिवारी, केन्द्रीय लेखा संयोजक केसी लामिछाने, केन्द्रीय सदस्य राज विश्वकर्मा र सिकेन्द्र पासवानले निर्वाचन रिपोर्टिङका संवेदनशील पक्षबारे सुझाव दिएका थिए।

अध्यक्ष पंडितले आजको छलफलले मधेस प्रदेशमा सिक्ने र आत्मसमीक्षा गर्ने संस्कृतिको सुरुवात गरेको उल्लेख गर्दै निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्दै सुरक्षित र जिम्मेवार ढंगले काम गर्न आग्रह गरिन्। कार्यक्रममा महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल, बाराका रमेश सुवेदी, धनुषाका पुरण साहलगायत विभिन्न जिल्लाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।