हरेक वर्ष फेब्रुअरी १४ मा विश्वभरि भ्यालेन्टाइन डे मनाइन्छ । गुलाबका फूल, चकलेट, उपहार र प्रेमिल सन्देशहरूले वातावरण रंगिन्छ । तर प्रश्न उठ्छ–के प्रेम केवल एउटा दिनमा सीमित गर्न सकिन्छ ? के साँचो माया क्यालेन्डरको मितिमा निर्भर हुन्छ ? प्रेमको वास्तविक अर्थ र भ्यालेन्टाइन दिवसको सन्दर्भमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने प्रयत्न हो ।
पहिले, प्रेम के हो भन्ने बुझ्न जरुरी छ । प्रेम केवल प्रेमी र प्रेमिकाबीचको आकर्षणमात्र होइन । प्रेम भनेको आमा–बुबाको स्नेह, दाजुभाइ–दिदीबहिनीको अपनत्व, साथीहरूको विश्वास र मानवताप्रतिको करुणा पनि हो । प्रेमले मानिसलाई सहनशील, दयालु र जिम्मेवार बनाउँछ । त्यसैले प्रेम कुनै एक सम्बन्धमा मात्र सीमित हुँदैन; यो त जीवनको आधार हो । यदि प्रेम जीवनको मूल तत्व हो भने, त्यसलाई एउटा दिनमा मात्र सीमित गर्नु कत्तिको उचित होला ?
भ्यालेन्टाइन दिवसको इतिहास हेर्दा, यो दिन सन्त भ्यालेन्टाइनको सम्झनामा मनाइन्छ । कथाअनुसार, उनले प्रेम र विवाहलाई समर्थन गर्दै युवाहरूलाई सहारा दिएका थिए । समयसँगै यो दिन प्रेम व्यक्त गर्ने विशेष अवसरका रूपमा स्थापित भयो। पश्चिमी संस्कृतिबाट शुरू भएको यो परम्परा अहिले विश्वभर फैलिएको छ । नेपालजस्ता देशहरूमा पनि युवापुस्ताले यसलाई उत्साहका साथ मनाउन थालेका छन् ।
तर, हाम्रो समाजमा यसबारे फरकफरक धारणा छन् । केही मानिसहरू भन्छन् कि, प्रेम देखाउन कुनै विशेष दिन चाहिँदैन । साँचो माया हरेक दिन व्यवहारमा देखिनु पर्छ । यदि हामी वर्षभरि एकअर्काप्रति सम्मान, विश्वास र सहयोग देखाउँदैनौं भने केवल एक दिन फूल दिएर प्रेम प्रमाणित हुँदैन । प्रेम त निरन्तरता हो, जिम्मेवारी हो, त्याग र समर्पण हो ।
अर्कोतर्फ, विशेष दिनहरूले सम्बन्धमा ताजापन ल्याउन मद्दत पनि गर्छन् । व्यस्त जीवनशैलीका कारण हामी कहिलेकाहीँ आफ्ना प्रियजनलाई समय दिन बिर्सन्छौं । भ्यालेन्टाइनजस्ता दिनले कम्तीमा एकपटक प्रेम व्यक्त गर्न, धन्यवाद भन्न र सम्बन्धको कदर गर्न सम्झाउँछ । यस दृष्टिले हेर्दा, यस्तो दिनको सकारात्मक पक्ष पनि छ । विशेष दिनले प्रेम सिर्जना गर्दैन, तर व्यक्त गर्न प्रेरणा दिन सक्छ ।
आजको समयमा भ्यालेन्टाइन डे केही हदसम्म व्यापारसँग पनि जोडिएको छ । बजारमा विभिन्न अफर, उपहार र प्रचारले यसलाई भव्य बनाइन्छ । कतिपयले यसलाई देखावटी र खर्चिलो पर्वको रूपमा पनि लिन्छन् । यदि प्रेमलाई केवल महँगा उपहार र बाहिरी प्रदर्शनमा सीमित गरियो भने यसको वास्तविक अर्थ हराउन सक्छ । साँचो प्रेम त सानोसानो खुसी, समझदारी र विश्वासमा टिकेको हुन्छ ।
हाम्रो संस्कृतिमा पनि प्रेम र स्नेहका अनेक रूप छन् । तीज, रक्षाबन्धन, भाईटीका, विवाहजस्ता अवसरहरूले सम्बन्धको महत्व झल्काउँछन् । त्यसैले प्रेम व्यक्त गर्न विदेशी संस्कृतिको दिन नै कुर्नुपर्छ भन्ने छैन । तर, विश्व एक गाउँजस्तै बनिरहेको वर्तमान अवस्थामा विभिन्न संस्कृतिका परम्परालाई सकारात्मक रूपमा ग्रहण गर्नु पनि अस्वाभाविक होइन । मुख्य कुरा, हामीले त्यसको सही अर्थ बुझ्नुपर्छ ।
एकछिन आँखाहरू बन्द गरौं र प्रेम बिनाको जीवन कल्पना गरौं त । न आमाबुबाको माया, न साथीहरूको साथ, न कसैको सहानुभूति, न कसैको अपनत्व । केवल स्वार्थ, चिसोपन र एक्लोपनले भरिएको संसार । कस्तो होला त्यो जीवन ? यदि प्रेम नहुने हो भने, बिहानको सूर्योदय पनि अर्थहीन लाग्ने थियो । आमाको स्नेहिल आवाजले उठाउने कोही नहुने, बाबुको हौसला दिने शब्दहरू सुन्न नपाइने । बाल्यकाल रमाइलो सम्झनाभन्दा खालीपनको अनुभूति हुने थियो । विद्यालयमा साथीहरूसँग बाँडिएका हाँसोहरू, सानासाना झगडा र मिलनका पलहरू केही पनि हुँदैनथे । जीवन केवल दायित्व र प्रतिस्पर्धामा सीमित हुने थियो । प्रेमबिनाको जीवन भनेको सम्बन्धबिनाको जीवन हो । सम्बन्धहरू केवल औपचारिकतामा सीमित हुन्थे । विवाह केवल सम्झौता हुन्थ्यो, मित्रता केवल स्वार्थको आधारमा टिक्थ्यो । कसैले कसैका लागि त्याग गर्ने थिएन, कसैले कसैको पीडामा आँशुु झार्ने थिएन । यस्तो संसारमा मानिसहरू सँगै भए पनि मनबाट टाढा हुन्थे ।
प्रेमले नै जीवनलाई अर्थ दिन्छ । प्रेमले नै हामीलाई उद्देश्य दिन्छ । कसैका लागि केही गर्न पाउँदा आउने सन्तुष्टि, कसैको मुस्कानको कारण बन्न पाउँदा हुने आनन्द मिल्छ । यी सबै प्रेमका उपहार हुन् । प्रेम नहुने हो भने, जीवन रंगहीन, रसहीन र अर्थहीन बन्ने थियो । त्यसैले, एकछिन प्रेम बिनाको जीवन कल्पना गर्दा नै मन डराउँछ । हामी बुझ्छौं कि, प्रेम नै जीवनको आत्मा हो । प्रेम नभए जीवन त चल्ला, तर बाँचाइ हुँदैन। शरीर त हुनेछ, तर आत्मीयता हुनेछैन । सास त चल्नेछ, तर हृदय धड्किनुको अर्थ हराउनेछ । जीवन अँध्यारो कोठाजस्तै हो, जहाँ झ्याल छैन, उज्यालो छैन । प्रेम नै त्यो उज्यालो हो जसले जीवनलाई अर्थ, मिठास र सौन्दर्य दिन्छ । त्यसैले, प्रेमलाई केवल भावना नभई जीवनको आधारका रूपमा स्वीकार गरौँ। किनकि प्रेम छ भने मात्र जीवन सुन्दर छ ।
प्रेम गर्न कुनै निश्चित दिन हुँदैन । प्रेम त हरेक दिन, हरेक क्षण व्यवहारमा झल्किनु पर्छ । भ्यालेन्टाइन डे केवल एउटा प्रतीक हो–माया, सम्मान र सम्बन्धको सम्झना गराउने दिन । यदि हामीले वर्षका ३६५ दिन नै एकअर्कालाई सम्मान र साथ दिन सक्यौं भने, हरेक दिन भ्यालेन्टाइन हुनेछ । यसैले, प्रश्नको उत्तर स्पष्ट छ– प्रेम क्यालेन्डरको पानामा सीमित हुँदैन । प्रेम त मनको भावना हो, जीवनको सार हो । भ्यालेन्टाइन दिवसलाई हामीले प्रेमको व्यापारिक प्रदर्शन नभई, सच्चा भावना अभिव्यक्त गर्ने अवसरका रूपमा लिन सकेमात्र यसको सार्थकता हुनेछ । प्रेम गरौं, तर केवल एक दिन होइन–हरेक दिन, हरेक क्षण ।