पर्सा क्षेत्र नं. १ मा चुनावी तापक्रम बढ्दै जाँदा नेकपा एमालेका प्रतिनिधिसभा उम्मेदवार तथा पूर्वमन्त्री प्रदीप यादवले राजनीतिक बहसलाई नयाँ मोड दिएका छन्। “अब जनताले सबैसँग सोध्नुपर्छ- तपाईंले के गर्नुभयो?” भन्ने प्रश्न उछाल्दै उनले आफ्ना प्रतिस्पर्धीलाई सार्वजनिक बहसमा उभिन चुनौती दिएका छन्।
वीरगञ्जमा आज बिहान एमालेका नेता–कार्यकर्तासँगको भेटघाटमा बोल्दै यादवले आफूले विगत कार्यकालमा गरेको विकासका कामहरू नै आफ्नो मुख्य आधार भएको बताए। “सडक, पुल–पुलेसा, धर्मशाला, विवाह मण्डप, शिक्षा, स्वास्थ्य सेवा, खानेपानी र अन्य पूर्वाधार निर्माणमा मैले परिणाम देखिने काम गरेको छु,” उनले दाबी गरे।
यादवका अनुसार मतदाताले ती कामको प्रत्यक्ष अनुभूति गरिरहेका छन्, जसका कारण आफ्नो पक्षमा सकारात्मक माहोल बनेको छ। उनले विकासको राजनीतिलाई प्राथमिकता दिएको उल्लेख गर्दै भावनात्मक नाराभन्दा परिणाममुखी कार्यशैली आवश्यक रहेको धारणा राखे।
फागुन ४ गतेदेखि निर्वाचन आचारसंहिता भित्र रहेर प्रचार–प्रसारलाई थप प्रभावकारी बनाउने तयारी भइरहेको उनले जानकारी दिए। “अधुरा योजना पूरा गर्नु र नयाँ आवश्यकता पहिचान गरेर काम अघि बढाउनु मेरो प्रतिबद्धता हो,” यादवले भने।
उनले संविधान, लोकतन्त्र तथा मधेशी जनताको हक–अधिकारको रक्षा गर्दै प्रतिनिधिसभामा सशक्त उपस्थिति जनाउने दाबी पनि गरे।
अन्त्यमा यादवले आफूलाई ‘नेता’ भन्दा ‘जनताको सेवक’को रूपमा प्रस्तुत गर्दै पुनः सेवा गर्ने अवसर जनताले दिनेमा आशावादी रहेको बताए।