पर्सा क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चुनावी गतिविधि तीव्र बन्दै गएको छ।
यसैक्रममा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका अनिल रुङ्टाले वीरगन्ज महानगरपालिका–२० हरपतगंज अपौनीमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
घरदैलोका क्रममा उम्मेदवार रुङ्टाले स्थानीय बासिन्दासँग भेटघाट तथा संवाद गर्दै आफ्ना चुनावी एजेन्डा प्रस्तुत गरेका थिए। उनले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, रोजगारी सिर्जना र सामाजिक सद्भावलाई प्राथमिकतामा राखेर क्षेत्रको समग्र विकास गर्ने प्रतिबद्धता व्यक्त गरे।
“जनताको विश्वास नै मेरो मुख्य शक्ति हो। राजनीति सेवा र समर्पणका लागि हुनुपर्छ,” उनले भने, “पर्सा–१ लाई विकास र अवसरको दृष्टिले नमुना क्षेत्र बनाउने लक्ष्यसहित अघि बढेको छु।”
कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, पूर्व सभापति अजय द्विवेदी, क्षेत्रीय सभापति अरबिन्द गुप्ता, उपसभापति अनिल सिंह, सचिव हरि यादव लगायतका नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो। साथै नेपाल विद्यार्थी संघ र तरुण दलका नेता तथा स्थानीय कार्यकर्ताहरूको पनि सहभागिता रहेको जनाइएको छ।
नेपाली कांग्रेसले पर्सा क्षेत्र–१ मा घरदैलो अभियानलाई तीव्र बनाउँदै मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएको जनाएको छ। कार्यक्रममा सहभागीहरूले आगामी निर्वाचनमा ‘रुख’ चुनाव चिह्नमा मतदान गर्न मतदातासमक्ष अपिल गरेका छन्।